
शान्तिपुर, २० मे २०२६: अखिल असम नेपाली छात्र संघ, अविभाजित गोवालपाडा जिल्ला समितिका तत्कालीन मूल सचिव, शान्तिपुर उच्च माध्यमिक विद्यालयका पूर्व अध्यक्ष, समाजका अभिभावक, एक कुशल समाज संगठक तथा समर्पित समाजसेवी स्वर्गीय राम बहादुर छेत्री ज्यूको असामयिक निधनको दुःखद खबरले हामी सुनगाभा आञ्चलिक समिति अत्यन्त मर्माहत भएका छौं। उहाँको निधनले केवल एउटा परिवार मात्र नभई सम्पूर्ण समाज, शिक्षा क्षेत्र तथा संगठनले एक अनुभवी, प्रेरणादायी र समाजप्रति समर्पित व्यक्तित्व गुमाएको अनुभूति गरेका छौं।
स्वर्गीय छेत्री ज्यूले आफ्नो जीवनकालभरि समाज र संगठनको हितलाई सधैं प्राथमिकतामा राखी निरन्तर योगदान पुर्याउनुभएको थियो। विशेषगरी विद्यार्थी, युवा तथा समाजको उन्नति र विकासका लागि उहाँले निर्वाह गर्नुभएको भूमिका आज पनि प्रेरणाको स्रोत बनेको छ। संगठनप्रतिको उहाँको समर्पण, समाजप्रतिको जिम्मेवारीबोध र सेवाभावले उहाँलाई सबैको मनमा विशेष स्थान दिलाएको थियो। उहाँको सरल व्यवहार, नेतृत्व क्षमता तथा समाज निर्माणप्रतिको सकारात्मक सोच सदैव स्मरणीय रहनेछ।
यस दुःखद घडीमा आज सुनगाभा आञ्चलिक समितिका सभापति श्री नवीन थापा ज्यूको नेतृत्वमा आञ्चलिक समितिको एक प्रतिनिधि टोली स्वर्गीय छेत्री ज्यूको निवासमा उपस्थित भई उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकाकुल परिवारजनसँग भेटघाट गर्दै यस अपूरणीय क्षतिको घडीमा गहिरो समवेदना व्यक्त गरिएको छ। यस कठिन परिस्थितिमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै उहाँहरूको दुःखमा हामी सधैं साथमा रहेको विश्वास दिलाइएको छ।
समाज निर्माण र संगठनलाई बलियो बनाउन स्वर्गीय राम बहादुर छेत्री ज्यूले पुर्याउनुभएको योगदान कहिल्यै भुल्न सकिने छैन। उहाँका विचार, मार्गदर्शन तथा समाजप्रतिको समर्पण भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बनिरहनेछ। उहाँको अभाव सधैं खड्किने भए तापनि उहाँले छोडेर जानुभएका कर्म र योगदानहरू समाजमा सदैव जीवित रहनेछन्।
स्वर्गीय राम बहादुर छेत्री ज्यूको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं तथा शोक सन्तप्त परिवारजनप्रति पुनः हार्दिक समवेदना व्यक्त गर्दछौं।
प्रतिवेदन: श्री नवीन थापा, सभापति, सुनगाभा आञ्चलिक समिति।