All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #32
May 28, 2026

डिमौमा मेधावी विद्यार्थीहरूलाई भव्य सम्मान, शिक्षाप्रति चेतना अभिवृद्धिमा जोड

📅 May 28, 2026
✍️ AAGSU
🕒 12:06 AM

डिमौ, १८ मे २०२६: डिमौ क्षेत्रका मेधावी विद्यार्थीहरूलाई सम्मान गर्दै शिक्षाप्रति समाजको जिम्मेवारीलाई अझ मजबुत बनाउने उद्देश्यले गत १७ मे २०२६ का दिन डिमौस्थित बाली जनजाति प्राथमिक विद्यालयमा एक भव्य “सम्वर्धना अनुष्ठान” कार्यक्रम सम्पन्न भएको छ। अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिमौ आञ्चलिक समिति, असम नेपाली साहित्य सभा डिमौ शाखा समिति तथा असम गोर्खा सम्मेलन डिमौ शाखा समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।

कार्यक्रममा यस वर्षको उच्च माध्यमिक (HSLC) तथा उच्चतर माध्यमिक (HS) परीक्षामा उत्कृष्ट सफलता हासिल गरेका डिमौ क्षेत्रका गोर्खा समुदायका छात्रछात्राहरूलाई विशेष रूपमा सम्मान गरिएको थियो। विद्यार्थीहरूको मेहनत, लगनशीलता र उपलब्धिको कदर गर्दै आयोजक संस्थाहरूले उनीहरूलाई कदरपत्रसहित सम्मान प्रदान गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यार्थीहरू समाजका भविष्य भएकाले उनीहरूको सफलताले सम्पूर्ण समुदायलाई गौरवान्वित बनाएको बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा असम नेपाली साहित्य सभा धेमाजी जिल्लाका सभापति इन्द्र नेपालको उपस्थिति रहेको थियो। आफ्नो सम्बोधनका क्रममा उनले वर्तमान समय शिक्षाको युग भएकाले विद्यार्थीहरूले अनुशासन, मेहनत र लक्ष्यप्रति समर्पित भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। उनले विद्यार्थीहरूलाई केवल परीक्षा उत्तीर्ण गर्ने मात्र नभई समाज र राष्ट्र निर्माणमा योगदान दिने सक्षम नागरिक बन्न प्रेरित गरेका थिए।

त्यसैगरी, कार्यक्रममा असम नेपाली साहित्य सभा डिमौ शाखाका सभापति ललित उपाध्याय, सम्पादक गणेश अधिकारी, असम गोर्खा सम्मेलन डिमौ शाखा समितिका सभापति एकनाथ उपाध्याय तथा सह–सम्पादक दीपक लुइटेलले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले शिक्षा नै समाज परिवर्तनको प्रमुख आधार भएको उल्लेख गर्दै यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा थप आत्मविश्वास र प्रेरणा प्रदान गर्ने बताएका थिए।

अखिल असम गोर्खा छात्र संघ (आग्सु) धेमाजी जिल्ला समितिका उपसभापति ओम प्रकाश क्षेत्री, शिक्षा सचिव विष्णु ढुङ्गाना, डिमौ आञ्चलिक समितिका उपसभापति लीला न्यौपाने तथा मूल–सचिव प्रदीप धमलालगायत विभिन्न पदाधिकारीहरूको कार्यक्रममा सक्रिय उपस्थिति रहेको थियो। कार्यक्रममा शंकरदेव शिशु विद्या निकेतनका अध्यक्ष उदय दाहालको पनि सहभागिता रहेको थियो।

सम्मान कार्यक्रममा सम्मानित विद्यार्थीहरूका अभिभावक, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा विभिन्न आञ्चलिक शाखाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति देखिएको थियो। कार्यक्रमभर विद्यार्थीहरूको उत्साह र अभिभावकहरूको गौरवपूर्ण सहभागिताले वातावरण अझ उल्लासमय बनेको थियो। कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई अझ राम्रो गर्न प्रेरणा मिल्ने र समाजभित्र शिक्षाप्रतिको सकारात्मक सोच विस्तार हुने प्रतिक्रिया दिएका थिए।

समारोहको अन्त्यतिर आयोजक संस्थाहरूले आगामी दिनहरूमा पनि शिक्षा, भाषा, साहित्य र सामाजिक चेतनासँग सम्बन्धित यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रमले डिमौ क्षेत्रभित्र शिक्षा र प्रतिभाको सम्मान गर्ने संस्कृतिलाई अझ बलियो बनाएको स्थानीयवासीहरूले बताएका छन्।

प्रतिवेदक: प्रदिप धमाला, मूल-सचिव, डिमौ आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top