All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #32
May 28, 2026

पश्चिम कार्बी आङलङमा बहुभाषी कवि सम्मेलन सम्पन्न, नेपाली भाषा–साहित्य संरक्षणमा जोड

📅 May 28, 2026
✍️ AAGSU
🕒 12:05 AM

पश्चिम कार्बी आङलङ, १८ मई २०२६: साहित्यिक तथा सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले गत १७ मई २०२६ आइतबारका दिन पश्चिम कार्बी आङलङ जिल्लामा एक भव्य बहुभाषी कवि सम्मेलन तथा “लेखकसँग भेट” कार्यक्रम सम्पन्न भएको छ। साहित्य अकादेमी तथा असम नेपाली साहित्य सभा केन्द्रीय समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न भाषाभाषी साहित्यकार, कवि तथा साहित्यप्रेमीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
पश्चिम कार्बी आङलङ अन्तर्गत तुम्प्रेङको मुगासङ स्थित भानु नाट्य मञ्चमा सम्पन्न भएको उक्त कार्यक्रममा पाँच जना कविहरूले बिभिन्न भाषामा कविता वाचन गर्दछन्। “लेखकसँग भेट” कार्यक्रममा वरिष्ठ साहित्यकार, असम नेपाली साहित्य सभाका पूर्व सभापति तथा वर्तमान सल्लाहकार, साहित्य शिरोमणि, साहित्य साधक श्रीमान डम्बर दाहालज्यूलाई साहित्य अकादमी तथा असम नेपाली साहित्य सभा, आग्सु लगायत विभिन्न संघ संस्था, स्थानीय जनमानसद्वारा सम्बर्धना गर्दछन् ।
उक्त सभामा साहित्य अकादमी, दिल्लीका सदस्य तथा असम नेपाली साहित्य सभाका सल्लाहकार श्रीमान दुर्गा खतिवडाज्यू, अनेसास केन्द्रीय सभापति श्रीमान चिन्तामणि शर्माज्यू, महासचिव श्रीमान तिलक शर्माज्यू लगायत बिभिन्न पदाधिकारी वर्गसंगको एक टोली, असम गोर्खा सम्मेलनका केन्द्रीय नेतृत्व, भारतीय गोर्खा परिसंघका केन्द्रीय नेतृत्व आदि गरि स्थानिय संघ-संस्थाहरु र आग्सु पश्चिम कार्बी आङलङ जिल्ला समितिका सभापति गोपाल भट्टराई, उपसभापति अमित अधिकारी तथा शिक्षा सचिव सागर गौतमको विशेष सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको आयोजक पक्षले जनाएको छ। कार्यक्रममा उपस्थित साहित्यकारहरूले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
बिहान ११ बजे वन्ती प्रज्वलनबाट प्रारंभ भएको उक्त कार्यक्रम स्वागत समारोह, कविता वाचन, गीत-नृत्य, साहित्यिक परिवेशका साथ दुईवटा सत्रमा कार्यक्रम समापन हुँदछ। केन्द्रीय समितिको भित्तेपात्रो पनि उक्त सभामा विमोचन हुँदछ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रख्यात नेपाली साहित्यकार Dambar Dahal सँग “लेखकसँग भेट” कार्यक्रमको अन्तरक्रियाका क्रममा वहाँले नेपाली साहित्यको वर्तमान अवस्था, सृजनात्मक लेखनको महत्व तथा नयाँ पुस्तालाई मातृभाषाप्रति आकर्षित गराउने विषयमा आफ्ना विचार व्यक्त गर्नुभयो। वहाँले भाषा र साहित्य कुनै पनि समुदायको पहिचान र अस्तित्वसँग जोडिएको विषय भएकाले यसको संरक्षणमा सबैको दायित्व रहने बिचार व्यक्त गर्नुभयो।
बहुभाषी कवि सम्मेलनमा सहभागी हुने कविहरू हुनुहुन्थ्यो बापन क्रो (असमीया), बलेश्वर हानसे(कार्बी), अलका बथारी(डिमासा), बुधेश्वर बरदलै(तिवा), रन काफ्ले(नेपाली) र वहाँहरूले आ–आफ्नो मातृभाषामा कविता वाचन गरेका थिए। नेपालीसहित विभिन्न भाषामा प्रस्तुत गरिएका कविताहरूले कार्यक्रमस्थललाई साहित्यिक वातावरणले भरिएको थियो। सहभागीहरूले साहित्यले समाजलाई एकताबद्ध गर्न तथा सांस्कृतिक विविधतालाई सम्मान गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए।
कार्यक्रममा उपस्थित वक्ताहरूले पश्चिम कार्बी आङलङजस्तो बहुभाषिक क्षेत्रमा यस्ता कार्यक्रमले आपसी सद्भाव, सांस्कृतिक आदान–प्रदान तथा साहित्यिक चेतना अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने धारणा राखेका थिए। विशेषगरी युवा पुस्तालाई भाषा र साहित्यप्रति आकर्षित गराउन नियमित साहित्यिक गतिविधिहरू आवश्यक रहेकोमा जोड दिइएको थियो।
असम नेपाली साहित्य सभाले विगतदेखि नै भाषा, साहित्य तथा संस्कृतिको संरक्षणका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा सहभागी साहित्यप्रेमीहरूले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
सम्पूर्ण कार्यक्रम साहित्यिक उत्साह, सांस्कृतिक चेतना तथा भाषिक विविधताको सम्मानका साथ सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिले जनाएको छ।

प्रतिवेदक: चन्द्र प्रसाद शर्मा- मूल सचिव, आम्रेङ कपिलि आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top