
धेमाजी, १७ मइ: अखिल असम गोर्खा छात्र संघ (आग्सु), धेमाजी जिल्ला अन्तर्गत सिसि बरलुङ आञ्चलिक समितिको उद्योगमा तथा नेपाली साहित्य सभा माछखुवा शाखाको सहयोगमा आज १७ मे २०२६ का दिन भाङ्गिडिया नेपाली गाउँमा कृति विद्यार्थी अभिनन्दन तथा सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा यस वर्ष विभिन्न परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान जनाउँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरिएको थियो।
कार्यक्रममा प्रमूख वक्ताका रूपमा सिसिमुख उच्च माध्यमिक विद्यालयका सहायक शिक्षक रामप्रसाद दाहाल उपस्थित रहेका थिए। उनले विद्यार्थीहरूलाई केवल परीक्षामा राम्रो अंक ल्याउनु मात्र सफलता नभई अनुशासन, परिश्रम तथा नैतिक शिक्षासमेत जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गरे। उनले वर्तमान प्रतिस्पर्धात्मक युगमा विद्यार्थीहरूले अध्ययनसँगै सामाजिक चेतना र नेतृत्व क्षमताको विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
उक्त कार्यक्रममा आग्सु धेमाजी जिल्ला समितिका मूल-सचिव दिलीप खनालको विशेष उपस्थिति रहेको थियो। उनले सम्मानित विद्यार्थीहरूलाई शुभकामना ज्ञापन गर्दै आजका विद्यार्थीहरू नै भोलिको समाज र राष्ट्र निर्माणका आधारस्तम्भ भएको बताए। उनले शिक्षा नै समुदायको उन्नतिको मूल आधार भएकाले विद्यार्थीहरूले निरन्तर मेहनत र संघर्षमार्फत अझ उच्च सफलता हासिल गर्नुपर्ने धारणा व्यक्त गरे। साथै उनले अभिभावक र शिक्षकहरूको भूमिकालाई पनि महत्वपूर्ण बताउँदै विद्यार्थीहरूको सफलतामा परिवार र समाजको संयुक्त योगदान रहने कुरा उल्लेख गरे।
कार्यक्रममा सिसि बरलुङ आञ्चलिक आग्सुका सभापति निर्मल क्षेत्रीले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूलाई सम्मान गर्न पाउनु आञ्चलिक समितिका लागि गर्वको विषय भएको बताए। उनले आज सम्मानित भएका विद्यार्थीहरूले भविष्यमा अझ ठूला उपलब्धि हासिल गरी समाज र समुदायको नाम उज्ज्वल बनाउनुपर्ने अपेक्षा व्यक्त गरे। उनले परीक्षाको सफलतासँगै व्यवहारिक ज्ञान, सामाजिक उत्तरदायित्व तथा संस्कारको महत्वमाथि पनि प्रकाश पारे।
यस अवसरमा मोतीलाल शर्मा, मनबहादुर क्षेत्री तथा हेमन्त भण्डारीले पनि शुभकामना मन्तव्य राख्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययन, अनुशासन र लक्ष्यप्रति समर्पित रहन प्रेरित गरेका थिए। कार्यक्रममा अभिभावक, स्थानीय बुद्धिजीवी, विद्यार्थी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्त्य सम्मान वितरण तथा सामूहिक शुभकामना आदान–प्रदानका साथ सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक समितिले जनाएको छ।
प्रतिवेदक: निर्मल छेत्री- सभापति, सिसि बरलुङ आञ्चलिक समिति ।