
राजगढ़, २५ मेः अखिल असम गोर्खा छात्र संघ (आग्सु) टिंगखाङ आञ्चलिक समितिको उद्योग तथा गोर्खा नारी परिषद् टिंगखाङ आञ्चलिक समितिको सहयोगमा आगामी ७ जुन २०२६ आइतबार राजगढ़स्थित जिल्ला परिषद् भवनमा एक भव्य “विशेष सम्मान कार्यक्रम” आयोजना हुने भएको छ। हालै घोषित २०२६ सालको हाईस्कूल शिक्षान्त परीक्षा (HSLC) तथा उच्चतर माध्यमिक अन्तिम परीक्षा (HS) मा सफलतापूर्वक उत्तीर्ण भएका क्षेत्रका कृति विद्यार्थीहरूलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ।
शिक्षा क्षेत्रप्रति विद्यार्थीहरूलाई अझ प्रोत्साहित गर्ने तथा समाजमा शैक्षिक चेतनाको विकास गराउने लक्ष्यसहित उक्त कार्यक्रमको तयारी तीव्र पारिएको आग्सु टिंगखाङ आञ्चलिक समितिका पदाधिकारीहरूले बताएका छन्। कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मानपत्र, स्मृतिचिन्ह तथा अभिनन्दनद्वारा सम्मान गरिनेछ।
कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ। कार्यक्रममा विभिन्न सामाजिक संस्था, अभिभावक, शिक्षक–शिक्षिका, बुद्धिजीवी तथा क्षेत्रका गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। साथै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा निरन्तर मेहनत गर्न प्रेरणा प्रदान गर्ने उद्देश्यले विशेष मन्तव्य तथा प्रेरणादायी सम्बोधनसमेत राखिने आयोजकले जानकारी दिएको छ।
आग्सु टिंगखाङ आञ्चलिक समितिका सभापति दीपेन्द्र क्षेत्रीले समाजको प्रगतिको मूल आधार शिक्षा भएकाले विद्यार्थीहरूलाई सम्मान र प्रोत्साहन गर्न आवश्यक रहेको बताए। उनले परिश्रम र अनुशासनका साथ अध्ययनमा लागेमा विद्यार्थीहरूले भविष्यमा समाज र राष्ट्रको नाम उच्च बनाउने विश्वास व्यक्त गरे। त्यस्तै शिक्षा सम्पादक विशाल उपाध्यायले कार्यक्रममार्फत विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थपिने र अन्य विद्यार्थीहरूलाई पनि राम्रो अध्ययनका लागि प्रेरणा मिल्ने धारणा राखे।
साधारण सम्पादक परिमल विश्वकर्माले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि अनुरोध गरेका छन्। उनले आग्सु सधैं विद्यार्थीहित र समाजको शैक्षिक उन्नयनका लागि प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रमलाई सभ्य र सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरी आवश्यक तयारी अघि बढाइएको आयोजक समितिले जनाएको छ। स्थानीय समाजमा शिक्षा र प्रतिभाको सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमलाई क्षेत्रवासीले सकारात्मक रूपमा लिएको देखिएको छ।
प्रतिवेदक: परिमल बिश्वकर्मा- मूल-सचिव, टिंगखाङ आञ्चलिक समिति।