All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #32
May 28, 2026

डिगबोई महाविद्यालय आग्सु एकाईको कार्यकारिणी सभा सम्पन्न, नयाँ प्रतिनिधि सभा गठनको तयारी तीव्र

📅 May 28, 2026
✍️ AAGSU
🕒 12:07 AM

डिगबोई, मई २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) डिगबोई महाविद्यालय एकाईको डिगबोई, ईटाभटा स्थित श्री श्री नेपाली काली मन्दिरको प्रांगणमा कार्यकारिणी सभा सम्पन्न भएको छ। विद्यार्थी संगठनको भावी दिशा, संगठनात्मक सुदृढीकरण तथा आगामी कार्यक्रमहरूको रूपरेखा तय गर्ने उद्देश्यले आयोजित उक्त सभामा विभिन्न पदाधिकारी, विद्यार्थी प्रतिनिधि तथा समाजका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाको सभापतित्व डिगबोई महाविद्यालय आग्सु एकाईका सभापति गोविंद कार्की छेत्री-ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालनमा मूल–सचिव अनुज उप-सभापति ले सहयोग पुर्‍याउनु भएको थियो। सभामा विद्यार्थी संगठनको वर्तमान अवस्था, शैक्षिक वातावरण, विद्यार्थी समस्याहरू तथा आगामी वर्षका योजनाहरूमाथि विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमका मुख्य अतिथि अखिल असम गोर्खा छात्र संघ तिनिसुकिया जिल्ला समितिका शिक्षा सचिव खेम बहादुर छेत्री-ले विद्यार्थीहरूलाई संगठनात्मक अनुशासन, शिक्षा र नेतृत्व विकासको महत्त्वबारे प्रेरणादायी मन्तव्य राख्नु भयो। उहाँले आग्सु केवल एउटा छात्र संगठन मात्र नभई गोर्खा समाजको शैक्षिक, सामाजिक तथा सांस्कृतिक चेतनाको प्रतीक भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी बन्न आग्रह गर्नु भयो।

त्यसैगरी सभामा अतिथिका रूपमा उपस्थित अखिल असम गोर्खा छात्र संघ तिनिसुकिया जिल्ला समितिका उपसभापति मिलन शर्मा तथा सह–सांस्कृतिक सचिव विष्णु शर्मा-ले पनि संगठनको गतिविधि तथा विद्यार्थी एकताको आवश्यकता सम्बन्धमा आ–आफ्नो विचार व्यक्त गर्नु भयो। उहाँहरूले डिगबोई महाविद्यालय आग्सु एकाईले विगत वर्षभरि गरेका कार्यहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ सक्रिय रूपमा समाज र विद्यार्थी हितमा कार्य गर्न शुभकामना व्यक्त गर्नु भयो।

सभामा डिगबोई महाविद्यालय छात्र एकता सभाकी प्राक्तन प्राचिर पत्रिका सम्पादक सरला उपाध्याय-को पनि विशेष उपस्थिति रहेको थियो। उहाँले विद्यार्थी जीवनमा साहित्य, संगठन र अनुशासनको महत्त्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई सृजनात्मक गतिविधिमा सहभागी हुन प्रेरित गर्नु भयो।

सभाको अन्त्यतिर महत्वपूर्ण निष्कर्षहरू पारित गरिएको थियो। आगामी ३१ मई २०२६ का दिन डिगबोई महाविद्यालयबाट बिदाइ लिन लागेका गोर्खा छात्र–छात्राहरूका निम्ति “बिदाई समारोह” आयोजना गर्ने निर्णय लिइएको छ। साथै वर्तमान समिति विधिवत् भंग गरी वर्ष २०२६–२०२७ का लागि नयाँ डिगबोई महाविद्यालय आग्सु एकाई प्रतिनिधि सभा गठन गर्ने निर्णय समेत सर्वसम्मत रूपमा पारित गरिएको जानकारी दिइयो।

संगठनका पदाधिकारीहरूले नयाँ नेतृत्वमार्फत विद्यार्थी संगठनलाई अझ सशक्त, गतिशील र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। सभाको समापन सौहार्दपूर्ण वातावरणमा भएको थियो भने उपस्थित विद्यार्थी तथा अतिथिहरूले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक समितिलाई बधाई ज्ञापन गरेका थिए।

प्रतिवेदक: गोविन्द कार्कि – सभापति, डिगबोई महाविद्यालय इकाइ।

📤 Share this story
Scroll to Top