All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #32
May 28, 2026

बङ्गालझोरा–भाउरागुरी गाउँमा आग्सुको शैक्षिक भ्रमण, अभिभावकसँग गम्भीर छलफल

📅 May 28, 2026
✍️ AAGSU
🕒 12:05 AM

कोक्राझार, २७ मेः अखिल असम गोर्खा छात्र संघ (आग्सु) कोक्राझार जिल्ला समिति, BTC क्षेत्रिय समिति तथा स्थानीय रञ्जित शाखा समितिको संयुक्त पहलमा कोक्राझार जिल्ला अन्तर्गत पर्ने बङ्गालझोरा तथा भाउरागुरी गाउँमा शैक्षिक अवस्थाको अध्ययन तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले एक विशेष भ्रमण कार्यक्रम सम्पन्न गरिएको छ। उक्त भ्रमणका क्रममा गाउँका अभिभावक, स्थानीय शिक्षाप्रेमी तथा समाजसेवीहरूसँग सौहार्दपूर्ण वातावरणमा व्यापक छलफल गरिएको थियो।

भ्रमण टोलीले गाउँका विद्यार्थीहरूको वर्तमान शैक्षिक अवस्था, विद्यालयमा भइरहेको गतिविधि, अध्ययनप्रतिको रुचि, अभिभावकको भूमिका तथा ग्रामीण क्षेत्रका शैक्षिक चुनौतीहरूबारे विस्तृत जानकारी संकलन गरेको जनाएको छ। छलफलका क्रममा स्थानीय अभिभावकहरूले गाउँमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीहरूलाई नियमित मार्गदर्शन, शैक्षिक चेतना तथा प्रेरणामूलक कार्यक्रमको आवश्यकता रहेको बताएका थिए। अभिभावकहरूले विशेष गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक शिक्षासँग जोड्न विभिन्न सचेतनामूलक तथा परामर्श कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए।

आग्सुका प्रतिनिधिहरूले पनि वर्तमान समयमा शिक्षा नै समाज विकासको मुख्य आधार भएको उल्लेख गर्दै गाउँस्तरबाटै शैक्षिक चेतना विस्तार गर्न आवश्यक रहेको बताएका थिए। टोलीले विद्यार्थीहरूमा अनुशासन, सकारात्मक सोच तथा शैक्षिक प्रतिस्पर्धाको भावना विकास गर्न सामूहिक प्रयास अपरिहार्य रहेको धारणा राखेको थियो। छलफलका क्रममा आगामी दिनमा बङ्गालझोरा–भाउरागुरी गाउँका विद्यार्थी तथा अभिभावकहरूलाई समेटेर विशेष शैक्षिक कार्यशाला, करियर मार्गदर्शन कार्यक्रम तथा सचेतनामूलक अभियान सञ्चालन गर्ने विषयमा समेत विस्तृत योजना बनाइएको जानकारी दिइएको छ।

भ्रमण टोलीमा आग्सु कोक्राझार जिल्ला समितिका सभापति आईता घिसिङ, पूर्व सभापति मुकुन्द भट्टराई, सचिव हेमन पोख्रेल, भुवन पौडेल, BTC क्षेत्रिय समिति आग्सुका शिक्षा सचिव शंकर राई, कार्यालय सचिव किरण पौडेल, पूर्व आग्सु कर्मी तथा झारबारी उच्चतर माध्यमिक विद्यालयका शिक्षक रिकुल खनाल तथा रञ्जित शाखा समिति आग्सुका सभापति कुशन कोईराला सहभागी रहेका थिए। टोलीले गाउँका अभिभावकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै शिक्षा क्षेत्रको समग्र सुधारका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको थियो।

यस अवसरमा आग्सु कोक्राझार जिल्ला समितिले भविष्यमा पनि जिल्लाका विभिन्न गाउँ–बस्तीमा पुगेर शैक्षिक अवस्थाको अध्ययन, अभिभावकसँग समन्वय तथा विद्यार्थीहरूलाई प्रेरित गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। समितिले ग्रामीण क्षेत्रका शैक्षिक समस्याहरू पहिचान गरी समाधानको बाटो खोज्न र सकारात्मक शैक्षिक माहोल निर्माण गर्न संगठन सदैव अग्रसर रहने विश्वास व्यक्त गरेको छ।

प्रतिवेदक: भुवन पौडेल,सचिव(IT Incharge)कोक्राझार जिल्ला समिति ।

📤 Share this story
Scroll to Top