
दुलियाजान, ३० मेः अखिल असम गोर्खा छात्र संघ (आग्सु) दुलियाजान आञ्चलिक समितिको कार्यकारिणी सभा गत १४ मे २०२६, बिहीबारका दिन दुलियाजानस्थित आग्सु, डिब्रुगढ़ जिल्ला समितिको अस्थायी कार्यालय BX+ 409 मा सफलतापूर्वक सम्पन्न भयो। संगठनलाई अझ सशक्त, सक्रिय तथा जनमुखी बनाउने उद्देश्यले आयोजित उक्त सभामा विभिन्न सांगठनिक विषय तथा क्षेत्रीय समस्यामाथि व्यापक छलफल गरिएको थियो।
सभामा आग्सु, डिब्रुगढ़ जिल्ला समितिका सभापति रत्न थापा, भारप्राप्त मूल–सचिव सूरज छेत्री, सचिव सविर सोनार, सांगठनिक सचिव सुरज नेवार, कार्यालय सचिव बर्मा राणा तथा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिका सचिव अजय कुमार आलेको विशेष उपस्थिति रहेको थियो। उपस्थित नेताहरूले दुलियाजान आञ्चलिक समितिको वर्तमान अवस्था, भावी कार्ययोजना, सदस्य विस्तार, संगठनात्मक सुदृढीकरण तथा समुदायसँग सम्बन्धित विविध विषयमा आफ्ना धारणा राखेका थिए।
सभामा दुलियाजान आञ्चलिक समितिलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यले सर्वसम्मत रूपमा केही महत्वपूर्ण निर्णयहरू पारित गरियो। निर्णयअनुसार समितिका सक्रिय कार्यनिर्वाहक सदस्य विशाल खपाङ्गीलाई संगठनप्रतिको समर्पण, सक्रियता तथा योगदानको मूल्याङ्कन गर्दै सचिव पदमा पदोन्नति गरिएको छ। उनको पदोन्नतिले संगठनलाई थप ऊर्जा र नेतृत्व क्षमता प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी संगठन विस्तार तथा युवा सहभागिता वृद्धि गर्ने उद्देश्यले नयाँ सक्रिय कार्यकर्ताहरू सुरज लामा, आकाश छेत्री (विक्की), चित्र बहादुर थापा, देबजित बोराईक, भीम ढकाल छेत्री, चन्दन प्रधान (चन्दु), रमेश सुवेदी, आकाश छेत्री (बोरुवा तिनाली), विन्तु लामा तथा आनन लामालाई आग्सु, दुलियाजान आञ्चलिक समितिको कार्यनिर्वाहक सदस्यमा सर्वसम्मत रूपमा मनोनित गरिएको छ। नवमनोनित सदस्यहरूलाई संगठनको उद्देश्य, आदर्श तथा जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै समाज र विद्यार्थी समुदायको हितमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।
सभामा वक्ताहरूले आग्सुको मूल उद्देश्य विद्यार्थी, युवा तथा गोर्खा समाजको समग्र उत्थान रहेको उल्लेख गर्दै संगठनलाई गाउँ–गाउँ र घर–घरसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। उनीहरूले संगठनको एकता, अनुशासन र सक्रियतामार्फत मात्रै समाजका विभिन्न चुनौतीहरूको सामना गर्न सकिने धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले संगठनलाई अझ मजबुत, उत्तरदायी र जनविश्वासयुक्त संस्थाको रूपमा स्थापित गर्न एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सभाले आगामी दिनमा विभिन्न सामाजिक, शैक्षिक तथा संगठनात्मक कार्यक्रमहरूलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्ने निर्णयसमेत गरेको जानकारी दिइएको छ।
प्रतिवेदक: तिल बहादुर थापा- सभापति, दुलियाजान आञ्चलिक समिति ।