All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #33
June 4, 2026

नवनियुक्त डीएसपी रिङ्कु प्रधानलाई आग्सुद्वारा सम्मान

📅 June 4, 2026
✍️ AAGSU
🕒 12:06 AM

जागुन, २ जुनः अखिल असम गोर्खा छात्र संघ (आग्सु) टिराप–जागुन आञ्चलिक समितिको एक प्रतिनिधिमण्डलले हालै असम प्रहरी विभागमा नवनियुक्त डीएसपी श्री रिङ्कु प्रधानलाई उहाँकै निवास, जागुन ९ माइलमा पुगेर सम्मान तथा बधाई ज्ञापन गरेको छ।

समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा श्री प्रधानलाई खादा ओढाई तथा सम्मानपत्र प्रदान गर्दै उहाँको उल्लेखनीय सफलताको प्रशंसा गरिएको थियो। प्रतिनिधिमण्डलले उहाँले हासिल गर्नुभएको यो उपलब्धि केवल व्यक्तिगत सफलतामा सीमित नरही सम्पूर्ण गोर्खा समाज तथा क्षेत्रवासीका लागि गर्वको विषय बनेको उल्लेख गरेको थियो।

कार्यक्रममा वक्ताहरूले कडा परिश्रम, दृढ सङ्कल्प, अनुशासन र निरन्तर प्रयासकै कारण श्री रिङ्कु प्रधानले असम प्रहरी विभागको जस्तो जिम्मेवार पदमा पुग्न सफल भएको बताउँदै उहाँको सफलताले युवा पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। साथै, समाजका युवाहरूले पनि उहाँलाई आदर्शका रूपमा ग्रहण गर्दै शिक्षा, प्रतिस्पर्धा र सेवाको क्षेत्रमा अघि बढ्नुपर्ने धारणा राखिएको थियो।

सम्मान ग्रहण गर्दै श्री रिङ्कु प्रधानले आग्सु टिराप–जागुन आञ्चलिक समितिप्रति आभार व्यक्त गर्दै समाजको माया, विश्वास र सहयोगले आफूलाई थप जिम्मेवार बनाएको बताए। उहाँले आगामी दिनहरूमा आफ्नो कर्तव्यलाई इमान्दारीपूर्वक निर्वाह गर्दै समाज र राष्ट्रको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा आग्सु टिराप–जागुन आञ्चलिक समितिले श्री रिङ्कु प्रधानलाई पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको कार्यकाल सफल, प्रभावकारी र प्रेरणादायी रहोस् भन्ने कामना गरेको थियो।

प्रतिवेदक: कृष्ण रिमाल- सभापति, तिराप-जागुन आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top