
तिनसुकिया, १ मे २०२६, आईतबार: गत ३१ मे २०२६, आइतबारका दिन अखिल असम गोर्खा छात्र संघ (आग्सु), तिनसुकिया आञ्चलिक समितिद्वारा आयोजित विशेष अभिनन्दन अनुष्ठान बापुजी पञ्चायतको प्रेक्षागृहमा भव्यताका साथ सम्पन्न भयो। समाज, शिक्षा तथा विद्यार्थी हितका क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान तथा अभिनन्दन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक तथा विद्यार्थी संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व तिनसुकिया आञ्चलिक समितिका सभापति बाब्लु लिम्बुले गर्नुभएको थियो भने सभाको उद्देश्य तथा कार्यक्रमको महत्वबारे मूल सचिव दीपक लिङ्डेनले विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो। उहाँले विद्यार्थी समुदायको सर्वाङ्गीण विकास, सामाजिक उत्तरदायित्व तथा शैक्षिक उन्नयनका लागि यस्ता कार्यक्रमहरूको विशेष महत्व रहेको बताउनुभयो। कार्यक्रमको औपचारिक उद्घाटन तिनसुकिया जिल्ला समितिका उपसभापति राकेश लामाद्वारा गरिएको थियो।
अनुष्ठानका मुख्य अतिथिका रूपमा तिनसुकिया जिल्ला समितिका मुख्य सल्लाहकार अशोक लामा तथा सभापति देव गुरुङको गरिमामय उपस्थिति रहेको थियो। आफ्ना सम्बोधनका क्रममा उहाँहरूले विद्यार्थी समुदायलाई शिक्षा, अनुशासन, नेतृत्व क्षमता तथा सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गर्नुभयो। साथै, गोर्खा समुदायको शैक्षिक तथा सामाजिक उन्नतिमा विद्यार्थी संगठनहरूको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो।
कार्यक्रमका निर्दिष्ट वक्ता आवर एबीसी एकेडेमीका अध्यक्ष नारायण उपाध्याय हुनुहुन्थ्यो। उहाँले आफ्नो मन्तव्यमा शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई लक्ष्यप्रति प्रतिबद्ध, मेहनती र जिम्मेवार बन्न आग्रह गर्नुभयो। उहाँले वर्तमान समयको प्रतिस्पर्धात्मक परिवेशमा गुणस्तरीय शिक्षाको महत्वबारे समेत प्रकाश पार्नुभयो।
उक्त कार्यक्रममा तिनसुकिया जिल्ला समितिका उपसभापति मिलन शर्मा, सहसचिव चन्दन लिम्बु, सहसचिव सोनु तेम्बे, शिक्षा सचिव खेमबहादुर छेत्री, सांगठनिक सचिव जतन प्रधान, बापुजी पञ्चायतकी सभानेत्री, तिनसुकिया जिल्ला नारी परिषद्का प्रतिनिधिहरू, तिनसुकिया आञ्चलिक समिति नारी परिषद्का पदाधिकारीहरू तथा विभिन्न सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रसँग सम्बन्धित गण्यमान्य व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको योगदानको चर्चा गर्दै ४० भन्दा धेरै विद्यार्थी हरूलाई सम्मानपत्र तथा अभिनन्दन प्रदान गरिएको थियो। उपस्थित अतिथि तथा वक्ताहरूले सम्मानित व्यक्तित्वहरूको कार्यप्रति उच्च प्रशंसा व्यक्त गर्दै आगामी दिनहरूमा पनि समाज र राष्ट्र निर्माणमा सक्रिय योगदानको अपेक्षा व्यक्त गर्नुभयो।
सम्पूर्ण कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। अन्त्यमा आयोजक समितिले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता रचनात्मक तथा प्रेरणादायी कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता जनाएको थियो।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge) ,तिनसुकिया जिल्ला समिति ।