
तामुलपुर, ०३ जुन: अखिल असम गोर्खा छात्र संघ, तामुलपुर जिल्ला समितिको नाग्रिजुली आञ्चलिक समिति अन्तर्गत नाग्रिजुली कलेज एकाइ आज पुनर्गठन गरिएको छ।
जानकारीअनुसार, संघको नाग्रिजुली आञ्चलिक समितिका सभापति रविशंकर उप्रेतीको सभापतित्वमा सम्पन्न प्रतिनिधि सभामा नाग्रिजुली कलेज एकाइको पुरानो समिति विघटन गरी आगामी कार्यकालका लागि नयाँ समिति गठन गरिएको हो। नवगठित समितिमा ज्योति नेवारलाई सभानेत्री तथा आशिष छेत्रीलाई मूल सचिव चयन गरिएको छ। साथै, विभिन्न पदाधिकारी र सदस्यसहित कूल २१ जनाको पूर्णाङ्ग समिति गठन गरिएको छ।
त्यसै सभामा गोर्खा समुदायका विद्यार्थीहरूमाझ नेपाली विषयलाई आधुनिक भारतीय भाषा (एमआईएल) विषयका रूपमा अध्ययनको आवश्यकता सन्दर्भमा विस्तृत छलफल गरिएको थियो।
उक्त सभामा पर्यवेक्षकका रूपमा आग्सुको तामुलपुर जिल्ला समितिका उप सभापति राजेन अधिकारी, सांगठनिक सचिव जनक नेवार तथा प्रचार सचिव केशव खड्का उपस्थित रहेका थिए। साथै, नाग्रिजुली आञ्चलिक समितिका संस्थापक मूल सचिव ईश्वर लम्साल, आञ्चलिक समितिका पदाधिकारी तथा विद्यार्थी प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यता, नवगठित समितिलाई अखिल असम गोर्खा छात्र संघ, तामुलपुर जिल्ला समितिका सभापति टंक भट्टराई, मूल सचिव विप्लव चिमरीया तथा नाग्रिजुली आञ्चलिक समितिले सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्। साथै उनीहरूले नयाँ नेतृत्वले विद्यार्थी हित, शैक्षिक विकाश तथा गोर्खा समाजका सवालहरूलाई सशक्त रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।
प्रेरक: विप्लव चिमरीया-मूल सचिव, तामुलपुर जिल्ला समिति ।