
चिराङ, १३ जुनः अखिल असम गोर्खा छात्र संघ (AAGSU) हिमाली आञ्चलिक समितिको पहिलो कार्यकारिणी बैठक शनिबार अमटेका स्थित छाया कुञ्ज एल.पी. स्कूलमा सफलतापूर्वक सम्पन्न भएको छ। संगठनलाई थप सुदृढ, सक्रिय र प्रभावकारी बनाउने उद्देश्यले आयोजित उक्त बैठकमा संगठनका विभिन्न तहका पदाधिकारी, सल्लाहकार, शाखा प्रतिनिधि तथा कार्यसमिति सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
हिमाली आञ्चलिक समितिका सभापति बासु अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन मूल-सचिव सितल काफ्लेले गर्नुभएको थियो। बैठकको प्रारम्भमा संगठनको वर्तमान अवस्था, आञ्चलिक समितिको कार्यगत प्रगति तथा आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले विद्यार्थी समुदायका समस्या, शैक्षिक क्षेत्रका चुनौती, सामाजिक उत्तरदायित्व तथा संगठनको जनाधार विस्तार सम्बन्धी विभिन्न विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रममा बी.टी.सी. क्षेत्रीय समितिका साङ्गठनिक सचिव अमल कार्की तथा साहित्य सचिव कृष्ण पौडेल विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। उहाँहरूले संगठनको इतिहास, वर्तमान आवश्यकता तथा भावी चुनौतीबारे चर्चा गर्दै संगठनलाई जनस्तरसम्म थप प्रभावकारी ढङ्गले विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। विद्यार्थीहरूको हकहित संरक्षण, शैक्षिक जागरण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा संगठनले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने विषयमा समेत उहाँहरूले मार्गदर्शन प्रदान गर्नुभयो।
त्यसैगरी चिराङ जिल्ला समितिका उप- सभापति खेमराज कार्की, मूल-सचिव कृष्ण सुबेदी, साङ्गठनिक सचिव उत्तम सुबेदी तथा स्वयंसेवक दस्ता का प्रमुख उद्धव सुबेदीको समेत गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूले संगठनको अनुशासन, एकता तथा सक्रियतामार्फत संगठनलाई थप उचाइमा पुर्याउन सकिने धारणा व्यक्त गर्दै कार्यसमितिका सदस्यहरूलाई जिम्मेवारीपूर्वक कार्य गर्न प्रेरित गर्नुभयो।
बैठकमा प्रमुख सल्लाहकार ईश्वर दाहाल, सल्लाहकार हरि शर्मा, उपसभापति द्वय सुमन क्षेत्री र मनीषा अधिकारी, सचिव रोशन क्षेत्री, साङ्गठनिक सचिव दिवाकर न्यौपाने, शिक्षा सचिव अशोक उपाध्याय, कार्यालय सचिव जय शर्मा, प्रचार सचिव पवन क्षेत्री, आई.टी. सचिव राजेश सुबेदी तथा कार्यसमिति सदस्य मनोज उपाध्याय लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने, शाखा समितिहरूलाई थप सक्रिय बनाउने तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए।
बैठकमा मालिभिटा, कोइला मोइला, अमटेका तथा त्रिवेणी शाखा समितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शाखा समितिहरूको तर्फबाट आ-आफ्नो क्षेत्रका गतिविधि, चुनौती तथा आगामी योजनाबारे जानकारी प्रस्तुत गरिएको थियो। शाखा र आञ्चलिक समितिबीच समन्वयलाई अझ मजबुत बनाउने विषयमा समेत बैठकमा विशेष जोड दिइएको थियो।
छलफलका क्रममा संगठन विस्तार अभियानलाई तीव्रता दिने, विद्यार्थीहरूको शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि विविध कार्यक्रम सञ्चालन गर्ने, संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने तथा आगामी दिनमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा सहमति भएको बताइएको छ। बैठकले संगठनलाई समयसापेक्ष, उत्तरदायी तथा जनमुखी बनाउँदै विद्यार्थी हितका सवालहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।
हिमाली आञ्चलिक समितिको प्रथम कार्यसमिति बैठकले संगठनात्मक एकता, सक्रियता तथा कार्यगत प्रतिबद्धतालाई थप मजबुत बनाएको सहभागीहरूको विश्वास रहेको छ। बैठकबाट प्राप्त सुझाव, निर्णय तथा योजनाहरूको प्रभावकारी कार्यान्वयनमार्फत संगठनलाई नयाँ ऊर्जा र दिशासहित अगाडि बढाइने अपेक्षा गरिएको छ।
प्रतिवेदक: राजेश सुवेदी- सुचना एवं प्रविधि सचिव, हिमाली आञ्चलिक समिति (चिराङ) ।