
डिग्बोई, १४ जुनः अल असम स्टुडेन्ट्स युनियन (AASU) डिग्बोई आञ्चलिक समितिको आयोजनामा डिग्बोईस्थित मुलियाबारी बिहुतोली फरागधर प्रेक्षागृहमा उच्च तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका छात्रछात्राहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम सम्पन्न भएको छ।
आइतबार आयोजित उक्त कार्यक्रममा विभिन्न विद्यालय तथा उच्च शिक्षण संस्थानका मेधावी विद्यार्थीहरूलाई सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको उच्च मूल्याङ्कन गर्दै उनीहरूलाई आगामी दिनमा अझ बढी सफलता हासिल गर्न प्रेरणा प्रदान गरिएको आयोजक पक्षले जनाएको छ।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ तिनसुकिया जिल्ला समितिका उप-सभापति सुमन छेत्रीको विशेष उपस्थिति रहेको थियो। उनले सम्मानित विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको उल्लेख गरेका थिए। उनले विद्यार्थीहरूलाई आफ्नो लक्ष्यप्रति दृढ रहँदै निरन्तर परिश्रम गर्न आग्रह गरेका थिए।
उक्त अवसरमा विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ। मेधावी विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमको स्थानीय अभिभावक तथा समाजका विभिन्न तहबाट प्रशंसा गरिएको छ।
प्रतिवेदक: जतन प्रधान, सांगठनिक सचिव (IT Incharge) , तिनसुकिया जिल्ला समिति।