
बाक्सा, ५ जुलाई २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) अन्तर्गत हिमाली आञ्चलिक समितिको मैनपोखोरी शाखा समितिको पुनर्गठन सभा शनिबार उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। संगठनलाई जरा तहदेखि अझ सुदृढ, गतिशील तथा जनमुखी बनाउने उद्देश्यले आयोजित उक्त सभाले सर्वसम्मत रूपमा २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।
पुनर्गठन सभामा आग्सु बाक्सा जिल्ला समितिका सांगठनिक सचिव श्री धर्म भण्डारी, श्री जीवन गौतम, मुखपत्र सचिव श्री पृथु पराजुली, शान्तिपुर गाउँ उन्नयन समितिका सभापति तथा मूल–सचिव, साथै असम गोर्खा सम्मेलन केन्द्रीय समितिका कार्यालय सचिव श्री अमर रिमाल लगायतका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूले संगठनलाई बलियो बनाउन युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै विद्यार्थी नेतृत्वले समाज परिवर्तनमा खेल्नुपर्ने भूमिकामाथि प्रकाश पारेका थिए।
सभाले सुश्री ग्रीष्मा घिमिरेलाई सभानेत्री तथा श्री मुनाल अधिकारीलाई मूल–सचिवको जिम्मेवारी प्रदान गर्दै २५ सदस्यीय नयाँ मैनपोखोरी शाखा समिति सर्वसम्मत रूपमा गठन गरेको हो। नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूले संगठनको आदर्श, अनुशासन र उद्देश्यलाई आत्मसात् गर्दै विद्यार्थी, युवा तथा गोर्खा समाजको शैक्षिक, सामाजिक र बौद्धिक विकासका लागि समर्पित भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको प्रारम्भमा आग्सुको बीटीसी क्षेत्रीय समितिका प्रतिष्ठापक मूल–सचिव स्वर्गीय माधव कार्कीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै, स्वर्गारोहण भएका आग्सुका सम्पूर्ण प्राक्तन कर्मीहरूको योगदानको उच्च सम्मान गर्दै उहाँहरूको चिरशान्तिको कामना स्वरूप एक मिनेट मौनधारणसहित शोकसभा आयोजना गरिएको थियो। वक्ताहरूले स्वर्गीय माधव कार्की तथा अन्य अग्रजहरूको योगदान संगठनको इतिहासमा सदैव प्रेरणाको स्रोत रहने उल्लेख गरे।
सभालाई सम्बोधन गर्दै विभिन्न वक्ताहरूले संगठनको सुदृढीकरण, गुणस्तरीय शिक्षा, विद्यार्थी नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, युवाहरूको सशक्तीकरण तथा गोर्खा समुदायको हक, अधिकार, पहिचान र सम्मानका विषयमा आग्सुले निरन्तर सशक्त भूमिका निर्वाह गर्दै आएको बताएका थिए। उनीहरूले नवगठित समितिलाई संगठनका नीति, सिद्धान्त र मूल्यलाई आत्मसात् गर्दै समाजमुखी कार्यक्रम सञ्चालन गर्न आग्रह गरे।
हिमाली आञ्चलिक समितिले नवगठित मैनपोखोरी शाखा समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। समितिले नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त, प्रभावकारी र जनविश्वासयुक्त बनाउँदै विद्यार्थी तथा समाजको हितमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न पुनर्गठन सभाले मैनपोखोरी क्षेत्रमा आग्सुको सांगठनिक आधारलाई थप मजबुत बनाउनुका साथै भावी दिनमा विद्यार्थी आन्दोलन, सामाजिक जागरण र समुदायको समग्र विकासमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
प्रतिवेदक- श्रीमान पवन सोनारी, सुचना एवं प्रविधि सचिव बाक्सा जिला समिति ।