All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #38
July 9, 2026

हालै एमबीबीएस उत्तीर्ण गरेका डा. बासु जोशीलाई आग्सु उमराङ्सो आञ्चलिक समितिद्वारा भव्य सम्मान

📅 July 9, 2026
✍️ AAGSU
🕒 12:06 AM

उमराङ्सो, ७ जुलाई: अखिल असम गोर्खा छात्र सङ्घ (आग्सु) उमराङ्सो आञ्चलिक समितिको आयोजनामा हालै एमबीबीएस अध्ययन सफलतापूर्वक पूरा गरेका उमराङ्सो निवासी डा. बासु जोशीलाई एक विशेष सम्मान समारोहको आयोजना गरी भव्य रूपमा सम्मान गरिएको छ। समाजका लागि प्रेरणादायी उपलब्धि हासिल गरेको भन्दै उहाँलाई खादा ओढाई, स्मृति–चिन्ह (मेमेन्टो) प्रदान गरी हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।

कार्यक्रमको सभापतित्व आग्सु उमराङ्सो आञ्चलिक समितिका सभापति मोहन छेत्रीले गर्नुभएको थियो। आफ्नो सम्बोधनमा उहाँले डा. बासु जोशीको सफलता सम्पूर्ण उमराङ्सो क्षेत्र तथा गोर्खा समाजकै गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा उहाँले चिकित्सा सेवामार्फत समाजप्रति अझ ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले युवापुस्तालाई शिक्षा र परिश्रममार्फत आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्दै यस्ता प्रतिभाको सम्मान गर्ने कार्यलाई आग्सुले निरन्तरता दिने बताउनुभयो।

कार्यक्रममा आञ्चलिक समितिका मूल–सचिव चन्दन शर्मा, कोषाध्यक्ष विष्णु उपाध्याय, सांगठनिक सचिव प्रेम जोशी तथा सदस्य गणेश शर्माको उल्लेखनीय उपस्थिति रहेको थियो। त्यसैगरी आग्सु जिल्ला समितिका उप–सभापति कृष्ण पराजुली, केन्द्रीय कार्यकारिणी सदस्य दिलीप छेत्री तथा उमराङ्सो आञ्चलिक समितिका पूर्व सभापति जीवन शर्मालगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको पनि गरिमामय उपस्थिति रहेको थियो।

वक्ताहरूले डा. बासु जोशीको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही सम्पूर्ण क्षेत्रका विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरे। उनीहरूले ग्रामीण क्षेत्रका युवाहरूले पनि दृढ इच्छाशक्ति, निरन्तर मेहनत र समर्पणका साथ उच्च शिक्षा हासिल गर्न सक्ने उदाहरणका रूपमा डा. जोशीलाई प्रस्तुत गर्दै आगामी पुस्तालाई उहाँबाट प्रेरणा लिन आग्रह गरे।

सम्मान ग्रहणपछि डा. बासु जोशीले आफूलाई सम्मान गर्ने आग्सु उमराङ्सो आञ्चलिक समितिप्रति हार्दिक आभार व्यक्त गर्दै भविष्यमा आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजको स्वास्थ्य सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवाहरूलाई आफ्नो लक्ष्यप्रति दृढ रहन र कठिन परिश्रमलाई कहिल्यै नछोड्न आग्रह गर्नुभयो।

कार्यक्रमको अन्त्यमा उपस्थित सबैले डा. बासु जोशीको उज्ज्वल भविष्यको कामना गर्दै उहाँले चिकित्सा क्षेत्रमार्फत समाज र राष्ट्रको सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए। प्रतिभाको सम्मान र युवा पुस्तालाई प्रेरणा दिने उद्देश्यले आयोजित उक्त कार्यक्रम उमराङ्सो क्षेत्रमा शिक्षा र सामाजिक उत्तरदायित्वप्रति सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको आयोजक समितिले जनाएको छ।

प्रतिवेदक: मोहन छेत्री- सभापति, उमराङसो आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top