All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #38
July 9, 2026

आग्सु उदालगुडी आञ्चलिक समितिद्वारा ७० जना कृति विद्यार्थीलाई सम्मान, उत्कृष्ट प्रतिभालाई विशेष छात्र पुरस्कार प्रदान

📅 July 9, 2026
✍️ AAGSU
🕒 12:06 AM

उदालगुडी, ५ जुलाई २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुडी आञ्चलिक समितिको आयोजनामा ‘कृति विद्यार्थी छात्र पुरस्कार’, ‘स्वर्गीय कुन्ती देवी स्मृति छात्र पुरस्कार प्रदान’ तथा ‘प्रतिभा सम्मान कार्यक्रम’ आज उदालगुडीमा भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। शिक्षा क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा उदालगुडी आञ्चलिक क्षेत्रअन्तर्गतका उच्च तथा उच्चतर माध्यमिक परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएका ७० जना विद्यार्थीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई ‘कृति विद्यार्थी छात्र पुरस्कार’ तथा ‘स्वर्गीय कुन्ती देवी स्मृति छात्र पुरस्कार’ प्रदान गर्दै उनीहरूको मेहनत, अनुशासन र लगनशीलताको उच्च मूल्याङ्कन गरिएको थियो। वक्ताहरूले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै शैक्षिक उत्कृष्टताप्रति थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको सभापतित्व उदालगुडी आञ्चलिक समितिका सभापति श्री तेजबहादुर कार्कीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मूल–सचिव अर्जुन थापाले कुशलतापूर्वक गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सदिया कलेजका प्रवक्ता डा. दिपेन्द्र कुमार खानाल उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा बर्सोला हाई स्कूलका वरिष्ठ शिक्षक श्री लक्ष्मण अधिकारी, असम नेपाली साहित्य सभा उदालगुडी जिल्ला समितिका उपसभापति तथा उदालगुडी उच्चतर माध्यमिक विद्यालयका वरिष्ठ शिक्षक श्री मोहन कुमार छेत्री, उदालगुडी उच्चतर माध्यमिक विद्यालयका सहायक शिक्षक श्री लक्ष्मण तिम्सिना, आग्सु बि.टि.आर. क्षेत्रीय समितिका उपसभापति श्री पूर्ण बिष्ट, समाजसेवी तथा युवा प्रेरक श्री एर्विन दैमारी, उदालगुडी महाविद्यालयका प्राध्यापक श्री सोमनाथ नेपाल लगायतले कार्यक्रममा सहभागी भई विद्यार्थीहरूलाई उज्ज्वल भविष्यका लागि प्रेरणादायी शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा आग्सु उदालगुडी जिल्ला समितिका उप–सभापति दुर्गा बस्नेत, सचिव हेमराज छेत्री, सांगठनिक सचिव सागर खड्का छेत्री, शिक्षा सचिव दीपक अधिकारी, प्रचार सचिव तिलक गौतम, जिल्ला कार्यकारिणी सदस्य विकाश भट्टराई तथा मनोज राउतसहित जिल्ला तथा आञ्चलिक समितिका सम्पूर्ण पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा वक्ताहरूले शिक्षा नै समाज रूपान्तरणको सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई निरन्तर अध्ययन, अनुशासन, सामाजिक उत्तरदायित्व र नेतृत्व क्षमताको विकासतर्फ अग्रसर हुन आग्रह गरेका थिए। साथै, आग्सुले विगतदेखि नै शिक्षा, विद्यार्थी हित र समाज निर्माणका क्षेत्रमा सञ्चालन गर्दै आएका कार्यक्रमहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको समापनमा आयोजक समितिले कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण अतिथि, शिक्षक, अभिभावक, सम्मानित विद्यार्थी, पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेको थियो। उदालगुडी क्षेत्रमा शैक्षिक उत्कृष्टतालाई सम्मान गर्ने यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धा, उच्च मनोबल र समाजप्रति सकारात्मक दायित्वबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक: मनोज कुमार राउत- कार्यनिर्वाहक सदस्य, उदालगुरी जिल्ला समिति।

📤 Share this story
Scroll to Top