
लम्बापथार, २ जुलाई: अखिल असम गोर्खा छात्र संघ (आग्सु) पश्चिम कार्बी आङलङ जिल्ला अन्तर्गत आम्रेङ–कपिली आञ्चलिको नव-निर्वाचित कार्यसमितिको शपथग्रहण समारोह तथा नेपाली साहित्यका प्रख्यात साहित्यकार हरिभक्त कटुवालको जन्मजयन्ती समारोह बिहीबार लम्बापथारस्थित आग्सु पश्चिम कार्बी आङलङ जिल्ला कार्यालयमा भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रममा आग्सु पश्चिम कार्बी आङलङ जिल्ला समितिका मूल–सचिव श्री सोनी भुजेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी जिल्ला शिक्षा सचिव श्री सागर गौतम, आम्रेङ–कपिली आञ्चलिक समितिका पूर्व सभापति श्री रोशन शर्मा, पूर्व मूल–सचिव श्री चन्द्र प्रसाद शर्मा, आग्सुका पूर्व उपसभापति श्री विश्व बोरा, वर्तमान सभापति श्री मुकुट शर्मा, वर्तमान मूल–सचिव श्री सन्तोष कार्की, सांस्कृतिक सचिव सुश्री तनिषा कार्की, साथै श्री गोविन्द कार्की, श्री मेघराज थापा, श्री भास्कर क्षेत्री लगायत अन्य विशिष्ट व्यक्तित्व, पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहको प्रारम्भ संगठनको उद्देश्य, आदर्श तथा विधानप्रति प्रतिबद्धता व्यक्त गर्दै गरिएको थियो। त्यसपछि नव-निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले संगठनको विधानअनुसार विधिवत् शपथ ग्रहण गरेका थिए। शपथ ग्रहणसँगै निवर्तमान कार्यसमितिले नव-निर्वाचित नेतृत्वलाई संगठनको सम्पूर्ण जिम्मेवारी, दायित्व तथा कार्यभार औपचारिक रूपमा हस्तान्तरण गरेको थियो। यस अवसरमा नवगठित कार्यसमितिलाई संगठनको गौरवशाली इतिहासलाई आत्मसात् गर्दै विद्यार्थी, युवा तथा गोर्खा समाजको हितमा समर्पित भएर कार्य गर्न आग्रह गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले संगठनात्मक एकता, अनुशासन, शिक्षा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी रूपमा अघि बढाउन नव-निर्वाचित कार्यसमितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले संगठनको उद्देश्य र सिद्धान्तलाई व्यवहारमा उतार्दै समाज र विद्यार्थी समुदायको अपेक्षाअनुसार कार्य गर्नुपर्ने धारणा राख्दै नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
यसै अवसरमा नेपाली साहित्यका अमर स्रष्टा हरिभक्त कटुवालको जन्मजयन्ती पनि श्रद्धापूर्वक मनाइएको थियो। कार्यक्रममा उहाँको जीवन, व्यक्तित्व तथा नेपाली भाषा–साहित्यमा पुर्याउनुभएको अतुलनीय योगदानमाथि प्रकाश पारिएको थियो। वक्ताहरूले हरिभक्त कटुवालका सिर्जनाले नेपाली साहित्यलाई नयाँ उचाइ प्रदान गरेको उल्लेख गर्दै उहाँका साहित्यिक कृतिहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। सहभागीहरूले उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै नयाँ पुस्तालाई साहित्य अध्ययन, सिर्जना तथा भाषाको संरक्षणमा अग्रसर हुन आह्वान गरेका थिए।
कार्यक्रमभरि संगठनात्मक अनुशासन, आपसी सद्भाव र उत्साहपूर्ण वातावरण कायम रहेको थियो। नव-निर्वाचित कार्यसमितिले आगामी दिनमा संगठनको उद्देश्य, आदर्श तथा विधानलाई आत्मसात् गर्दै विद्यार्थी, युवा तथा गोर्खा समाजको हक, हित, शिक्षा र सशक्तीकरणका पक्षमा अझ प्रभावकारी रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी आयोजक आम्रेङ–कपिली आञ्चलिक समितिले दिएको छ।
प्रतिवेदक: चन्द्र प्रसाद शर्मा- उपदेष्टा, आम्रेङ कपिलि आञ्चलिक समिति।