
बिजनि, ८ जुलाई: अखिल असम गोर्खा छात्र संघ (आग्सु) चिराङ जिल्ला समितिको बर्धित कार्यकारिणी सभा आज बिजनी आञ्चलिक समितिको आतिथ्यमा कञ्चनजंगा इङ्ग्लिश स्कूल, बाताबारी परिसरमा भव्य रूपमा सम्पन्न भएको छ।
जिल्ला समितिका सभापति श्री निश्चल गिरीको सभापतित्व तथा मूल सचिव श्री कृष्ण सुवेदीको सञ्चालनमा सम्पन्न उक्त सभामा संगठनका विविध समसामयिक विषय, आगामी कार्यक्रम तथा संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो।
सभामा सुनगाभा, बिजनी तथा हिमाली आञ्चलिक समितिका सभापति, मूल सचिव, पदाधिकारी तथा आञ्चलिक कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै, आग्सु बी.टि.आर. क्षेत्रीय समितिका उपसभापति श्री प्रकाश छेत्रीको गौरवमय उपस्थितिले सभालाई अझ गरिमामय बनाएको थियो।
सभालाई सम्बोधन गर्दै वक्ताहरूले संगठनलाई अझ प्रभावकारी, अनुशासित र जनमुखी बनाउँदै विद्यार्थी तथा गोर्खा समाजका साझा हितका मुद्दाहरूलाई सशक्त रूपमा उठाउन सबै तहका समितिहरूबीच समन्वय र सक्रियताको आवश्यकता औँल्याए। संगठन विस्तार, नयाँ सदस्यता अभियान, शैक्षिक कार्यक्रम, सामाजिक उत्तरदायित्व तथा आगामी गतिविधिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत महत्वपूर्ण निर्णयहरू गरिएको थियो।
उपसभापति श्री प्रकाश छेत्रीले आफ्नो मन्तव्यका क्रममा संगठनको उद्देश्य र सिद्धान्तलाई आत्मसात् गर्दै एकताबद्ध भएर काम गर्न सबै कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले आग्सुको गौरवशाली इतिहासलाई निरन्तरता दिँदै विद्यार्थी र समाजको हितमा समर्पित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। साथै अखिल असम गोर्खा छात्र संघ, केन्द्रीय समितिकाे आगामी १८ औं प्रतिनिधि सभालाई सफल तुल्याउन सबै आग्सुकर्मी प्रति जिला समितिले आहवान गर्दछ।
सभाको अन्त्यमा जिल्ला सभापति श्री निश्चल गिरीले उपस्थित सम्पूर्ण पदाधिकारी, प्रतिनिधि तथा बिजनी आञ्चलिक समितिलाई सफल व्यवस्थापनका लागि धन्यवाद ज्ञापन गर्दै संगठनलाई अझ सुदृढ र गतिशील बनाउन सबैले सामूहिक रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
प्रतिवेदक: नवीन थापा, सभापति,सुनगाभा आञ्चलिक समिति।