
लम्बापत्थर, ५ जुलाई। अखिल असम गोर्खा छात्र संघ (आग्सु) पश्चिम कार्बी आङलङ जिल्ला समितिको छैटौँ कार्यकारिणी सभा तथा वर्धित कार्यकारिणी सभा गत ५ जुलाई २०२६ आइतबार लम्बापत्थरस्थित सेम्सन सिंह इङ्ती मेमोरियल माध्यमिक विद्यालयको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संगठनको आगामी कार्ययोजना, जिल्लाका समसामयिक विषय तथा केन्द्रीय प्रतिनिधि सभासम्बन्धी विविध विषयमा विस्तृत छलफल गर्दै सभा सफलतापूर्वक सम्पन्न भएको हो।
सभाको सभापतित्व जिल्ला समितिका सभापति श्री गोपाल भट्टराईज्यूले गर्नुभएको थियो। सभामा जिल्ला समितिका मुख्य उपदेष्टा खगेन्द्र थापा, जिल्ला समितिका उपदेष्टा श्री दीपक भट्टराई तथा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिका साहित्य सचिव श्री दीपक दाहालज्यूको विशेष उपस्थिति रहेको थियो। साथै जिल्ला समिति, आञ्चलिक समिति तथा विभिन्न शाखा समितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सभामा संगठनको आन्तरिक सुदृढीकरण, पश्चिम कार्बी आङलङ जिल्लामा रहेका गोर्खा समुदायका विविध जातीय तथा सामाजिक मुद्दा, शैक्षिक अवस्था सुधारका लागि आवश्यक पहल, विद्यार्थी हितसम्बन्धी कार्यक्रम तथा संगठनले आगामी दिनमा सञ्चालन गर्ने विभिन्न गतिविधिबारे विस्तृत रूपमा छलफल गरिएको थियो। यसका अतिरिक्त अखिल असम गोर्खा छात्र संघ (आग्सु) को आगामी केन्द्रीय प्रतिनिधि सभालाई सफल बनाउन जिल्लाको तर्फबाट आवश्यक तयारी तथा सहभागिताका विषयमा समेत व्यापक विचार–विमर्श गरिएको थियो।
छलफलका क्रममा सहभागीहरूले संगठनलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउँदै विद्यार्थी तथा समाजका हकहितका विषयमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। शिक्षा, सामाजिक एकता, संगठन विस्तार तथा समुदायका अधिकारसम्बन्धी विषयलाई प्राथमिकतामा राखी आगामी कार्ययोजना अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।
सभाको अन्त्यमा सर्वसम्मत निर्णय गर्दै अखिल असम गोर्खा छात्र संघ (आग्सु) को आगामी केन्द्रीय प्रतिनिधि सभामा पश्चिम कार्बी आङलङ जिल्ला समितिको प्रतिनिधिका रूपमा वर्तमान जिल्ला समितिका उपदेष्टा दीपक भट्टराईज्यूको नाम अनुमोदन गरिएको छ। उहाँको अनुभव, संगठनप्रतिको समर्पण तथा नेतृत्व क्षमतालाई मध्यनजर गर्दै प्रतिनिधिका रूपमा चयन गरिएको सभाले जनाएको छ।
कार्यकारिणी तथा वर्धित कार्यकारिणी सभाबाट पारित विभिन्न निर्णयहरू आगामी दिनमा चरणबद्ध रूपमा कार्यान्वयन गर्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित सभा सम्पन्न भएको जिल्ला समितिले जनाएको छ।
प्रतिवेदक: सोनी भूजेल, मूल-सचिव, पच्छिम कार्वि आङलङ जिल्ला समिति।