All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #38
July 9, 2026

लेखापानी पुनःस्थापना क्षेत्रमा आग्सु तिनसुकिया जिल्ला समितिको स्थलगत सर्वेक्षण, आदिवासी परिवारका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता

📅 July 9, 2026
✍️ AAGSU
🕒 12:05 AM

तिनसुकिया, २४ जुन २०२६: तिनसुकिया जिल्लाअन्तर्गत लिडु–मालुङ गाउँका १०६ वटा आदिवासी (ट्राइबल) परिवारलाई कोल इन्डियाद्वारा लेखापानीको बमगाडा क्षेत्रमा पुनःस्थापना गरिएको विषयमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिले बुधबार विस्तृत स्थलगत सर्वेक्षण सम्पन्न गरेको छ। पुनःस्थापित परिवारहरूको वर्तमान अवस्था, उपलब्ध आधारभूत सुविधा तथा उनीहरूले भोगिरहेका समस्याको वास्तविक अवस्था बुझ्ने उद्देश्यले गरिएको उक्त सर्वेक्षणलाई स्थानीयवासीले सकारात्मक पहलका रूपमा स्वागत गरेका छन्।

सर्वेक्षण टोलीमा आग्सु तिनसुकिया जिल्ला समितिका सल्लाहकार अशोक लामा, सभापति देव गुरुङ, मूल–सचिव शंकर जैसी, उप–सभापति मिलन शर्मा तथा सुमन छेत्री, जिल्ला पदाधिकारी मुकेश विश्वकर्मा, अरुण छेत्री र देवराज सुनारलगायतको उपस्थिति रहेको थियो। टोलीले पुनःस्थापना क्षेत्रमा पुगेर स्थानीय परिवारहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकताहरू र दैनिक जीवनसँग सम्बन्धित विभिन्न पक्षबारे जानकारी संकलन गरेको थियो।

सर्वेक्षणका क्रममा पुनःस्थापित परिवारहरूले आवास, पिउने पानी, सडक, स्वास्थ्य सेवा, शिक्षा, विद्युत्, जीविकोपार्जन तथा अन्य आधारभूत सुविधासँग सम्बन्धित विभिन्न समस्याहरू टोलीसमक्ष राखेका थिए। टोलीले स्थानीयवासीका गुनासा तथा सुझावलाई गम्भीरतापूर्वक अभिलेखीकरण गर्दै सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गरिने जनाएको छ।

आग्सुका प्रतिनिधिहरूले पुनःस्थापना केवल स्थानान्तरणमा सीमित नहुने उल्लेख गर्दै प्रभावित परिवारहरूको सम्मानजनक जीवनयापन सुनिश्चित गर्नु सम्बन्धित निकायको दायित्व भएको बताए। उनीहरूले पुनःस्थापित क्षेत्रका नागरिकहरूले आधारभूत सेवा र आवश्यक सुविधाबाट वञ्चित हुन नहुने धारणा व्यक्त गर्दै समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित विभाग, कोल इन्डिया तथा प्रशासनसँग समन्वय गरी आवश्यक पहल गरिने प्रतिबद्धता जनाए।

जिल्ला समितिले सर्वेक्षणबाट प्राप्त तथ्य, स्थानीयवासीका गुनासा तथा सुझाव समेटेर विस्तृत प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा बुझाउने जानकारी दिएको छ। साथै पुनःस्थापित परिवारहरूको हक, अधिकार तथा आधारभूत आवश्यकताको सुनिश्चितताका लागि आग्सुले आगामी दिनमा पनि निरन्तर अनुगमन, समन्वय र रचनात्मक पहल जारी राख्ने जनाएको छ।

प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge), तिनसुकिया जिल्ला समिति।

📤 Share this story
Scroll to Top