
डिग्बोई, ५ जुलाई: अखिल असम गोर्खा छात्र संघ (AAGSU) तिनसुकिया जिल्ला समितिको तेस्रो कार्यकारिणी सभा आइतबार तिनसुकिया जिल्लाको लाखीपथर, डिग्बोईमा सम्पन्न भएको छ। जिल्ला समितिका सभापति श्री देव गुरुङको सभापतित्व तथा जिल्ला मूल-सचिव श्री शंकर जयसीसहित जिल्ला समितिका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उक्त सभाले संगठनलाई अझ सशक्त, सक्रिय र अनुशासित बनाउने विषयमा महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
सभाको प्रारम्भमा संगठनका नियमित गतिविधि, जिल्लाअन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा तथा आगामी दिनमा सञ्चालन गरिने शैक्षिक, सामाजिक एवं सांगठनिक कार्यक्रमबारे विस्तृत छलफल गरिएको थियो। साथै, संगठनको सांगठनिक संरचनालाई अझ प्रभावकारी बनाउने, प्रत्येक अञ्चलिक समितिलाई थप जिम्मेवार बनाउने तथा कार्यसम्पादनलाई परिणाममुखी बनाउने विषयमा सहभागी पदाधिकारीहरूले आ–आफ्नो धारणा राखेका थिए। संगठनको उद्देश्य र विधानअनुसार प्रत्येक समितिले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्नेमा सभाले विशेष जोड दिएको थियो।
कार्यकारिणी सभा सम्पन्न भएपछि जिल्ला अन्तर्गतका अञ्चलिक समितिहरूसँग बर्धित कार्यकारिणी बैठक सम्पन्न गरिएको थियो। उक्त बैठकमा प्रत्येक अञ्चलिक समितिको गतिविधि, कार्यप्रगति तथा संगठनात्मक अवस्थाको विस्तृत समीक्षा गरिएको थियो। समीक्षा क्रममा जिल्ला समितिले सुरुदेखि नै पटकपटक बैठकको आह्वान गर्दा पनि निरन्तर अनुपस्थित रहँदै संगठनात्मक गतिविधिप्रति उदासीन देखिएका अञ्चलिक समितिहरूमाथि संगठनको विधानअनुसार कडा कारबाही गरिने जानकारी दिइएको छ। साथै, आगामी दिनमा सबै अञ्चलिक समितिहरूले संगठनात्मक अनुशासनको पूर्ण पालना गर्दै नियमित रूपमा गतिविधि सञ्चालन गर्नुपर्ने निर्देशनसमेत दिइएको छ।
सभामा संगठनको विस्तार, सदस्यता अभिवृद्धि, युवा तथा विद्यार्थीलाई संगठनसँग थप प्रभावकारी रूपमा जोड्ने रणनीति, शिक्षा, सामाजिक उत्तरदायित्व तथा जनसमुदायसँग संगठनको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा समेत गहन छलफल भएको थियो। सहभागी पदाधिकारीहरूले संगठनको गरिमा र प्रतिष्ठालाई उच्च राख्दै सामूहिक नेतृत्व, पारदर्शिता तथा जिम्मेवारीपूर्ण कार्यसम्पादनमार्फत जिल्लामा संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
यसै अवसरमा AAGSU तिनसुकिया जिल्ला समितिको तर्फबाट बीटीसी छेत्रीय समितिका पुर्व सभापति प्रयात माधव कार्कीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो। उहाँले समाज तथा गोर्खा समुदायको उत्थानका लागि पुर्याउनुभएको समर्पण, अतुलनीय योगदान र प्रेरणादायी व्यक्तित्वको स्मरण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना सहित उपस्थित सम्पूर्णले एक मिनेट मौनधारण गरेका थिए। वक्ताहरूले स्वर्गीय कार्कीले संगठनमा पुर्याउनुभएको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेका थिए।
लाखीपथर, डिग्बोईमा सम्पन्न उक्त कार्यक्रमले संगठनात्मक एकता, अनुशासन तथा सक्रियतालाई थप मजबुत बनाउनुका साथै आगामी दिनमा AAGSU तिनसुकिया जिल्ला समितिलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्दै सफलतापूर्वक सम्पन्न भएको जिल्ला समितिले जनाएको छ।
प्रतिवेदक: कुमार छेत्री- कार्यकारिणी सदस्य, तिनसुकिया जिल्ला समिति।