
गुवाहाटी, ७ जुलाई: विभिन्न समसामयिक तथा विद्यार्थी, समाज र संगठनसँग सम्बन्धित महत्वपूर्ण विषयहरूलाई लिएर अखिल असम गोर्खा छात्र संघ (आग्सु) को प्रतिनिधिमण्डलले आज अखिल असम छात्र संघ (आसु) का मुख्य उपदेष्टा डा. सम्मुजल भट्टाचार्यसँग सौहार्दपूर्ण भेटघाट तथा छलफल सम्पन्न गरेको छ।
आग्सुका कार्यवाहक सभापति श्री सञ्जीव चौहानको नेतृत्वमा सम्पन्न उक्त भेटघाटमा मूल सचिव श्री नुमल छेत्री तथा सूचना एवं प्रविधि सचिव श्री किरण खर्काको समेत उपस्थिति रहेको थियो।
भेटका क्रममा विद्यार्थी समुदाय, गोर्खा समाजका समसामयिक सवाल, शिक्षा, सामाजिक सद्भाव, संगठनबीचको आपसी सहकार्य तथा साझा सरोकारका विविध विषयमा विस्तृत र सकारात्मक छलफल भएको थियो। दुवै पक्षले लोकतान्त्रिक मूल्य, विद्यार्थी आन्दोलनको भूमिका तथा समाज हितका विषयमा सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रतिनिधिमण्डलले डा. सम्मुजल भट्टाचार्यसमक्ष गोर्खा समुदायसँग सम्बन्धित विविध विषयहरू प्रस्तुत गर्दै विद्यार्थी हित, सामाजिक न्याय तथा शैक्षिक विकासका क्षेत्रमा निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखेको थियो। त्यसक्रममा डा. भट्टाचार्यले पनि विद्यार्थी संगठनहरूबीच आपसी विश्वास, एकता र रचनात्मक संवादको वातावरण कायम रहनुपर्नेमा जोड दिँदै भविष्यमा समेत यस्ता सकारात्मक छलफललाई निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभयो।
उक्त भेटघाट अत्यन्त आत्मीय, रचनात्मक तथा फलदायी वातावरणमा सम्पन्न भएको केन्द्रीय नेतृत्वले जनाएको छ। कार्यक्रमले दुई ऐतिहासिक विद्यार्थी संगठनबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै साझा मुद्दाहरूमा सहकार्य र समन्वयको नयाँ सन्देश दिएको सहभागीहरूले बताएका छन्।
प्रतिवेदक: सञ्जय छेत्री- मुल सचिव, टंला आञ्चलिक समिति।