
बाक्सा, ४ जुलाई : अखिल असम गोर्खा छात्र संघ (आग्सु) बाक्सा जिल्ला समितिको पहिलो बर्धित कार्यकारिणी सभा हिमाली आञ्चलिक समिति अन्तर्गत भुटानखुटीस्थित शिव मन्दिर प्राङ्गणमा भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। नवगठित जिल्ला समितिको पहिलो विस्तारित कार्यकारिणी सभा भएकाले संगठनको भावी कार्यदिशा तय गर्ने दृष्टिले यस सभालाई विशेष महत्वका साथ सम्पन्न गरिएको हो।
सभामा आग्सु केन्द्रीय समितिका स्वयंसेवक प्रमुख श्रीमान त्रिलोचन भट्टराई तथा बिटिसी क्षेत्रीय समितिका मूल सचिव श्री राजु सुबेदीज्यूको गरिमामय उपस्थिति रहेको थियो। उहाँहरूले संगठनलाई अझ सुदृढ, अनुशासित र जनमुखी बनाउँदै विद्यार्थी हित, सामाजिक उत्तरदायित्व तथा संगठनात्मक एकतालाई सुदृढ गर्न सबै तहका कार्यकर्ताहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
सभाको मुख्य उद्देश्य नवगठित बाक्सा जिल्ला समितिले आगामी दुई वर्षका लागि तयार पारेको रणनीतिक कार्ययोजना तथा मस्यौदालाई जिल्ला अन्तर्गतका सम्पूर्ण आञ्चलिक समितिहरूसँग साझा गर्दै आवश्यक सुझाव संकलन गर्नु रहेको थियो। साथै, आग्सुको आगामी १८औँ द्विवार्षिक अधिवेशन तथा केन्द्रीय प्रतिनिधि सभामा बाक्सा जिल्लाको तर्फबाट संगठनको सुदृढीकरण, विद्यार्थी हित, शैक्षिक विकास, सामाजिक उत्तरदायित्व तथा भावी कार्यदिशासम्बन्धी रचनात्मक, गठनमूलक र दूरदर्शी विचार तथा प्रस्तावहरू प्रस्तुत गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। विभिन्न आञ्चलिक समितिबाट प्राप्त सुझावहरूलाई समेटी जिल्लाको साझा धारणा निर्माण गरी केन्द्रीय प्रतिनिधि सभामा प्रभावकारी रूपमा प्रस्तुत गर्ने निर्णय पनि गरिएको छ।
सभामा संगठनात्मक गतिविधिलाई गाउँ–गाउँसम्म विस्तार गर्दै संगठनलाई अझ व्यवस्थित, सशक्त र क्रियाशील बनाउने विषयमा व्यापक छलफल भयो। सोहीअनुसार आगामी २० दिनभित्र जिल्ला अन्तर्गत कम्तीमा तीन स्थानमा आञ्चलिक समितिहरूको समन्वयमा सांगठनिक कार्यशाला आयोजना गर्ने निर्णय गरिएको छ। उक्त कार्यशालामार्फत संगठनका नीति, उद्देश्य, संरचना, नेतृत्व विकास तथा कार्यशैलीबारे प्रशिक्षण प्रदान गरिनेछ। यस कार्यको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला समितिको सांगठनिक टोलीलाई आवश्यक जिम्मेवारी समेत प्रदान गरिएको छ।
त्यसैगरी, जिल्ला कार्यकारिणीको पहिलो बैठकमा पारित प्रस्तावअनुसार जिल्ला अन्तर्गतका सम्पूर्ण आञ्चलिक समितिहरूलाई आग्सुको ब्यानरमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क पाठदान शिविर, शैक्षिक परामर्श, क्षमता अभिवृद्धि कार्यक्रम वा अन्य शैक्षिक गतिविधिहरू सञ्चालन गर्न निर्देशन दिइएको छ। उक्त कार्यक्रमलाई सफल बनाउन जिल्ला समितिको शिक्षा विभागले आवश्यक समन्वय, सहयोग तथा अनुगमन गर्ने निर्णय पनि गरिएको छ।
सभाले संगठनलाई विद्यार्थी, समाज र राष्ट्रप्रति अझ जिम्मेवार, उत्तरदायी र क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, संगठन सुदृढीकरण, नेतृत्व विकास तथा सामाजिक सेवामूलक गतिविधिलाई आगामी कार्यकालको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने अठोट व्यक्त गरेको छ। साथै, जिल्ला अन्तर्गतका सम्पूर्ण आञ्चलिक समिति, शाखा समिति तथा सदस्यहरूलाई संगठनको आदर्श, नीति र उद्देश्यलाई आत्मसात् गर्दै एकताबद्ध भई आग्सुलाई अझ सशक्त, प्रभावकारी र जनविश्वासयुक्त संगठनका रूपमा स्थापित गर्न सक्रिय भूमिका निर्वाह गर्न सभाले आह्वान गरेको छ।
प्रतिवेदक- श्रीमान पवन सोनारी, सुचना एवं प्रविधि सचिव बाक्सा जिला समिति