All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #40
July 23, 2026

आग्सु बान्दरगुरी आञ्चलिक समितिद्वारा कार्यकारिणी सदस्य दुर्गा बस्नेतलाई अभिनन्दन।

📅 July 23, 2026
✍️ AAGSU
🕒 12:06 AM

उदालगुरी, २० जुलाई : अखिल असम गोर्खा छात्र संघ (आग्सु) बान्दरगुरी आञ्चलिक समितिले आग्सुको १८औँ द्विवार्षिक प्रतिनिधि सभाबाट उदालगुरी जिल्ला समितिको प्रतिनिधित्व गर्दै केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनु भएका श्री दुर्गा बस्नेतलाई उहाँकै निवासमा पुगेर हार्दिक अभिनन्दन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

कार्यक्रममा आञ्चलिक समितिका सभापति श्री किरण अधिकारीकाे नेतृत्वमा आञ्चलिक समितिका पदाधिकारी तथा कार्यकर्ताहरूले नवनिर्वाचित कार्यकारिणी सदस्य दुर्गा बस्नेतलाई खदा तथा सम्मानपत्रद्वारा सम्मान गर्दै संगठनप्रतिको उहाँको दीर्घकालीन योगदानको उच्च प्रशंसा गरेका थिए। वक्ताहरूले दुर्गा बस्नेत संगठनलाई व्यक्तिगत पद, प्रतिष्ठा वा स्वार्थभन्दा सधैं माथि राख्ने, समर्पित, अनुशासित तथा कर्मशील व्यक्तित्व भएको उल्लेख गर्दै उहाँको नेतृत्व र संगठनप्रतिको निष्ठा सम्पूर्ण कार्यकर्ताका लागि प्रेरणाको स्रोत बनेको बताए।

उनीहरूले व्यक्तिगत पदको प्रतिस्पर्धाभन्दा संगठनको हितलाई प्राथमिकता दिने उहाँको सोच, त्याग र समर्पणले आग्सुको सांगठनिक एकता र सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको धारणा व्यक्त गरे। आगामी दिनमा पनि उहाँको अनुभव, दूरदृष्टि र सक्रियताले संगठनलाई अझ सशक्त, गतिशील र जनमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

यस अवसरमा आग्सु उदालगुरी जिल्ला समितिका सचिव श्री हेमराज छेत्री, सांगठनिक सचिव श्री पवन खनाल, कार्यकारिणी सदस्य श्री विकास भट्टराई तथा विभिन्न तहका अग्रज, पदाधिकारी र कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नवनिर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनलाई अझ मजबुत बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्मान कार्यक्रममा बोल्दै श्री दुर्गा बस्नेतले आफूलाई प्रदान गरिएको सम्मानप्रति बान्दरगुरी आञ्चलिक समितिप्रति हार्दिक आभार व्यक्त गर्दै संगठनको आदर्श, उद्देश्य र विद्यार्थी समुदायको हितलाई सर्वोपरि राखेर जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अग्रज, पदाधिकारी तथा कार्यकर्ताप्रति आयोजक समितिले धन्यवाद ज्ञापन गर्दै दुर्गा बस्नेतको कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेको थियो।

प्रतिवेदक: श्री कालिदास छेत्री, शिक्षा सचिव, आग्सु बान्दरगुरी आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top