
पूर्व डेफेली, १९ जुलाई : ऐतिहासिक असम आन्दोलनकी प्रथम महिला शहीद बैजयन्ती देवीको जन्मजयन्तीको पावन अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), पूर्व डेफेली आञ्चलिक समितिले आफ्नो मुख्यालय परिसरमा रहेको उहाँको सालिकमा दीप प्रज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
कार्यक्रममा उपस्थित पदाधिकारी तथा सदस्यहरूले शहीद बैजयन्ती देवीप्रति श्रद्धासुमन अर्पण गर्दै असमको स्वाभिमान, अस्मिता र अस्तित्वको रक्षाका लागि उहाँले देखाउनुभएको अदम्य साहस, त्याग र आत्मबलिदान सधैँ प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरे।
उक्त अवसरमा वक्ताहरूले शहीद बैजयन्ती देवीको अतुलनीय योगदानले असम आन्दोलनको इतिहासलाई गौरवशाली बनाएको उल्लेख गर्दै उहाँको आदर्श, राष्ट्रप्रेम र मातृभूमिप्रतिको समर्पण भावलाई नयाँ पुस्ताले आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्णले शहीद बैजयन्ती देवीको पावन स्मृतिप्रति हार्दिक नमन गर्दै उहाँले देखाउनुभएको मार्गमा अघि बढ्ने तथा मातृभूमिप्रतिको कर्तव्यलाई उच्च प्राथमिकताका साथ निर्वाह गर्ने सामूहिक संकल्प व्यक्त गरेका थिए।
शहीद बैजयन्ती देवी अमर रहून्।