All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #41
July 30, 2026

आग्सु खौराङ आञ्चलिक समितिको आयोजनामा १२औँ शहिद मेजर दुर्गा मल्ल स्मृति फुटबल प्रतियोगिता–२०२६

📅 July 30, 2026
✍️ AAGSU
🕒 12:06 AM

खौराङ,२७ जुलाई: अखिल असम गोर्खा छात्र संघ (आग्सु), खौराङ आञ्चलिक समितिको आयोजनामा सञ्चालन हुन गइरहेको १२औँ शहिद मेजर दुर्गा मल्ल स्मृति फुटबल प्रतियोगिता–२०२६ को सफल आयोजनाका लागि आञ्चलिक समितिले सम्पूर्ण तयारीलाई तीव्रता दिएको छ। प्रतियोगितालाई भव्य, सभ्य तथा सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गर्दै स्वागतकारिणी समिति गठन गरिएको छ।
गठित स्वागतकारिणी समितिमा श्री पूर्ण छेत्रीलाई सभापति, श्री टेक बहादुर प्रधानलाई कार्यकारी सभापति तथा श्री किशोर सिर्पालीलाई मूल सचिवको जिम्मेवारी प्रदान गरिएको छ। समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू आ–आफ्नो जिम्मेवारीअनुसार प्रतियोगिताको तयारीमा सक्रिय रूपमा जुटिरहेका छन्। खेल सञ्चालन, अतिथि सत्कार, प्रचार–प्रसार, सुरक्षा व्यवस्था तथा अन्य आवश्यक व्यवस्थापनका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन्।
उक्त प्रतियोगिता ९ अगष्ट २०२६ देखि २५ अगष्ट २०२६ सम्म उदालगुरी जिल्ला स्पोर्ट्स एसोसिएसन (Udalguri District Sports Association) को प्राविधिक सञ्चालनमा मनपुर खेलमैदानमा आयोजना हुनेछ। प्रतियोगिताको समापन तथा फाइनल खेल २५ अगष्ट २०२६, अर्थात् बलिदान दिवसको अवसरमा सम्पन्न गरिनेछ। सोही दिन खौराङ आञ्चलिक समितिको कार्यालय नजिक अवस्थित गोर्खा वीर शहीद मेजर दुर्गा मल्लको प्रतिमूर्तिमा माल्यार्पण कार्यक्रम आयोजना गरिनेछ। त्यसपश्चात फाइनल खेल, पुरस्कार वितरण तथा समापन समारोह सम्पन्न हुनेछ।
यस प्रतियोगितामा केवल १६ वटा फुटबल टोलीलाई मात्र सहभागी गराइने व्यवस्था गरिएको छ। त्यसैले प्रतियोगितामा सहभागी हुन इच्छुक सम्पूर्ण फुटबल टोलीहरूलाई यथाशीघ्र आयोजक समितिसँग सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन हार्दिक अनुरोध गरिन्छ। निर्धारित १६ टोलीको सहभागिता पूरा भएपछि थप टोलीको दर्ता स्वीकार गर्न नसकिने भएकाले समयमै सम्पर्क गरी सहभागिता सुनिश्चित गर्न आयोजक समितिले विशेष अनुरोध गरेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विजेता टोलीलाई नगद ₹४०,०००/- सहित आकर्षक ट्रफी तथा उपविजेता टोलीलाई नगद ₹३०,०००/- सहित ट्रफी प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत अन्य विधामा पनि विशेष पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।
आयोजक समितिले सम्पूर्ण खेलप्रेमी, शुभेच्छुक, समाजसेवी, विभिन्न संघ–संस्था तथा स्थानीय जन-मानशहरूलाई प्रतियोगितामा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक निमन्त्रणा तथा अनुरोध गरेको छ। यस प्रतियोगिताले खेलकुदको विकास, युवाहरूबीच अनुशासन, मित्रता तथा आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै अमर शहीद मेजर दुर्गा मल्लको योगदानलाई स्मरण, सम्मान र नयाँ पुस्तासम्म उहाँको प्रेरणादायी इतिहास पुर्‍याउने विश्वास आयोजक समितिले व्यक्त गरेको छ।

प्रतिवेदक: श्री नारायण दाहाल, सचिव, आग्सु, खौराङ आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top