📰 AAGSU e-Bulletin
Issue #45
August 27, 2026

रौता आञ्चलिक समितिअन्तर्गत फाँकिदिया–कठालबारी शाखा समिति गठन

📅 August 27, 2026
✍️ AAGSU
🕒 12:07 AM

रौता, १६ अगस्ट २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सू) रौता आञ्चलिक समितिको आयोजनामा आइतबार फाँकिदियास्थित गोदावरी युवा मञ्चको कार्यालयमा साधारण सभा सम्पन्न भएको छ। बेलुकी ४ बजे आयोजित सभाको अध्यक्षता आञ्चलिक समितिका उपसभापति शेरबहादुर छेत्रीले गर्नुभएको थियो भने सञ्चालन मूलसचिव ख्याम नेवारले गर्नुभएको थियो।

सभाको प्रमुख उद्देश्य संगठनलाई स्थानीय तहसम्म अझ सुदृढ र विस्तार गर्ने रहेको थियो। सोही अवसरमा रौता आञ्चलिक समितिअन्तर्गत फाँकिदिया–कठालबारी शाखा समिति गठन गरिएको छ। सभाले चुडामणि छेत्रीलाई सभापति तथा रोशन विश्वकर्मालाई मूलसचिवको जिम्मेवारी प्रदान गर्दै नयाँ शाखा समिति गठन गरेको हो।

सभामा आग्सू बी.टी.सी. क्षेत्रीय समितिका वित्त सचिव मणिराज छेत्री, अखिल असम गोर्खा सम्मेलन (अगोस) उदालगुडी जिल्ला समितिका सांगठनिक सचिव कृष्ण महन्त, फाँकिदिया–कठालबारी शाखा समितिका मूलसचिव करण विश्वकर्मा, रौता आञ्चलिक समितिका शिक्षा सचिव विजय छेत्री, प्रचार सचिव सेवक शर्मा तथा कार्यकारिणी सदस्य सुनिल नेवारलगायत स्थानीय समाजसेवी, छात्र–छात्रा तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै वक्ताहरूले संगठनको उद्देश्य, नीति तथा कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन शाखा समितिहरूको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे। नवगठित शाखा समितिले स्थानीय विद्यार्थी तथा युवालाई संगठित गर्दै शिक्षा, सामाजिक जागरण, भाषा, संस्कृति तथा गोर्खा समाजको हित र अधिकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरिएको थियो।

सभाको अन्त्यमा नवगठित फाँकिदिया–कठालबारी शाखा समितिका सम्पूर्ण पदाधिकारी तथा कार्यकर्ताहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। नयाँ समितिको गठनसँगै रौता आञ्चलिक क्षेत्रमा आग्सूको संगठनात्मक गतिविधि थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक: श्री ख्याम नेवार, मुल सचिव, आग्सू, रौता आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top