
डिगबोई, १६ अगस्त २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिको कार्यकारिणी सभा आइतबार डिगबोईस्थित नेपाली विष्णु मन्दिरको प्रेक्षागृहमा सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला समितिका भारप्राप्त सभापति श्री सुमन छेत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यकारिणी सभामा जिल्ला समितिका मूल–सचिव श्री शंकर जैसीले सभाको उद्देश्य तथा आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो।
सभामा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिका सांगठनिक सचिव श्री अशोक लामाको विशेष उपस्थिति रहेको थियो। तिनसुकिया जिल्ला समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको सहभागितामा सम्पन्न सभामा संगठनको वर्तमान अवस्था, भावी कार्यदिशा तथा सांगठनिक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यकारिणी सभाका क्रममा जिल्लाअन्तर्गत संगठनको विस्तार तथा सुदृढीकरण, आगामी कार्यक्रमहरूको प्रभावकारी सञ्चालन, शाखा तथा आञ्चलिक समितिहरूसँगको समन्वय, विद्यार्थी तथा युवा वर्गलाई संगठनसँग थप जोड्ने विषयलगायत विभिन्न महत्वपूर्ण सांगठनिक विषयहरूमाथि विचार–विमर्श गरिएको थियो। साथै संगठनलाई आगामी दिनमा थप व्यवस्थित, सक्रिय र प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रणनीति तथा कार्ययोजनाका सम्बन्धमा महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत गरी छलफलपश्चात आवश्यक निर्णयहरू लिइएको थियो।
सभाले तिनसुकिया जिल्लामा संगठनको सांगठनिक गतिविधिलाई अझ गतिशील बनाउँदै विद्यार्थी तथा समाजका विभिन्न वर्गसँगको सम्बन्धलाई थप मजबुत बनाउनेमा जोड दिएको छ। जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूले संगठनको उद्देश्य, नीति तथा कार्यक्रमलाई तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्याउन सामूहिक रूपमा सक्रिय भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
यसै अवसरमा ऐतिहासिक असम आन्दोलनकी प्रथम महिला शहीद बैजयंती देवी उपाध्यायको मृत्यु तिथिको स्मरण गर्दै तिनसुकिया जिल्ला समितिको आयोजनामा श्रद्धाञ्जली अनुष्ठानसमेत सम्पन्न गरिएको थियो। कार्यक्रममा शहीद बैजयंती देवी उपाध्यायप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँले असम आन्दोलनमा पुर्याउनुभएको योगदान तथा बलिदानको स्मरण गरिएको थियो। सहभागीहरूले शहीदहरूको त्याग र बलिदानलाई भावी पुस्तासम्म पुर्याउनुपर्ने आवश्यकतामा जोड दिएका थिए।
कार्यकारिणी सभा तथा श्रद्धाञ्जली अनुष्ठानले तिनसुकिया जिल्ला समितिमा संगठनप्रतिको एकता, जिम्मेवारीबोध र सक्रियतालाई थप सुदृढ बनाएको बताइएको छ।
प्रतिवेदक : श्रीमान जतन प्रधान, सांगठनिक सचिव तथा IT In-charge, तिनसुकिया जिल्ला समिति