
गोवालपाडा, १६ अगस्त २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) गोवालपाडा जिल्ला समिति अन्तर्गत शिमलीतोला आञ्चलिक समितिको प्रतिनिधि सभा १६ अगस्त २०२६ का दिन सम्पन्न भएको छ। सभाले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा श्री बिनोद दर्जीलाई सभापति तथा श्री सञ्जीव कुमार छेत्रीलाई मूल–सचिव पदमा चयन गर्दै नयाँ आञ्चलिक समिति गठन गरेको छ।
प्रतिनिधि सभामा विशिष्ट समाजसेवी तथा असम गोर्खा सम्मेलनका ज्येष्ठ नेता श्री राजु आत्रेयको विशेष उपस्थिति रहेको थियो। उहाँले कार्यक्रममा संगठनको आवश्यकता, उद्देश्य तथा वर्तमान समयमा विद्यार्थी संगठनको भूमिकाबारे विस्तृत रूपमा आफ्नो विचार राख्नुभएको थियो। साथै शिमलीतोला आञ्चलमा स्थानीय समुदायले भोग्दै आएका विभिन्न समस्या तथा ती समस्याको समाधानका सम्भावित उपायहरूबारे समेत जानकारी गराउनुभएको थियो।
सभामा असम गोर्खा सम्मेलन शिमलीतोला शाखाका सभापति श्री बहादुर छेत्री, समाजसेवी श्री विनय नेवारलगायत विद्यार्थी, छात्रा तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यार्थी तथा युवाको शैक्षिक, सामाजिक र सांगठनिक विकासका लागि संगठित प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।
आग्सु गोवालपाडा जिल्ला समितिका भारप्राप्त सभापति श्री नारायण चापागाईको उपस्थितिमा सम्पन्न सभामा पर्यवेक्षकका रूपमा जिल्ला समितिका सचिव श्री नयन छेत्री, सांगठनिक सचिव श्री देव तामाङ तथा खेलकुद सचिव श्री बृदुल जोगीको समेत सहभागिता रहेको थियो। जिल्ला समितिका प्रतिनिधिहरूले नवगठित आञ्चलिक समितिलाई संगठनको नीति, उद्देश्य तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै विद्यार्थी तथा समुदायको हितमा सक्रिय भएर काम गर्न शुभकामना दिएका थिए।
प्रतिनिधि सभाले शिमलीतोला आञ्चलमा आग्सुको सांगठनिक गतिविधिलाई थप विस्तार र सुदृढ बनाउँदै विद्यार्थी तथा अभिभावकसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वले आगामी कार्यकालमा संगठनलाई सक्रिय र व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो।
अन्त्यमा उपस्थित सम्पूर्ण अतिथि, प्रतिनिधि, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गर्दै नवगठित शिमलीतोला आञ्चलिक समितिलाई सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो। त्यसपछि प्रतिनिधि सभा औपचारिक रूपमा समापन भएको थियो।
प्रतिवेदक : श्री नारायण चापागाई, भारप्राप्त सभापति, आग्सु गोवालपाडा जिल्ला समिति