All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #47
September 10, 2026

अखिल असम गोर्खा छात्र संघ आमेरिगोग आञ्चलिक समितिको शपथ ग्रहण तथा अभिनन्दन समारोह सम्पन्न

📅 September 10, 2026
✍️ AAGSU
🕒 12:06 AM

गुवाहाटी, मिति: गुवाहाटीको ११ माइलस्थित श्री श्री शिव मन्दिरको प्रेक्षागृहमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), कामरूप महानगर जिल्ला समिति अन्तर्गत आमेरिगोग आञ्चलिक समितिको शपथ ग्रहण तथा अभिनन्दन समारोह भव्यताका साथ सम्पन्न भएको छ।

आग्सु आमेरिगोग आञ्चलिक समितिका निवर्तमान सभापति श्री शिव शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन आग्सु कामरूप महानगर जिल्ला समितिका सभापति श्री उत्तम शर्माले गरेका थिए।

समारोहमा विभिन्न विशिष्ट व्यक्तित्वहरूको अभिनन्दन गर्नुका साथै समाजप्रति लामो समयदेखि योगदान पुर्‍याउँदै आएका सेवानिवृत्त शिक्षकहरूलाई सम्मान तथा सम्बोधन गरिएको थियो। कार्यक्रममा आग्सुका कार्यकारिणी सदस्यहरू टिंकु पौडेल, विष्णु चापाई र अमित कुमार पौडेल, प्राक्तन आग्सु सभापति श्री अर्जुन छेत्री, प्राक्तन शिक्षा सचिव श्री प्रदीप कार्की, विशिष्ट समाजसेवी श्री गणेश शर्मा, नेपाली मन्दिरका सभापति श्री गंगाधर पौडेल, प्रतिनिधिवर्ग, बृहत् गुवाहाटी गोपालक संस्थाका सभापति श्री बाबुराम पौडेल, कमारकुची गाउँ पञ्चायतकी सभानेत्री श्रीमती मृदुला रिजाल, उपसभानेत्री श्रीमती बिनिता छेत्री तथा आमेरिगोग उन्नयन समितिका सभापति श्री पी. के. बरूआ लगायत विभिन्न संघ-संस्था तथा समाजका गणमान्य व्यक्तिहरूको गरिमामय उपस्थिति रहेको थियो।

समारोहमा नवनिर्वाचित आमेरिगोग आञ्चलिक समितिका सभापति श्री संजय शर्मा, मूल सचिव सुश्री पदमा छेत्री तथा अन्य सदस्यहरूले शपथ ग्रहण गरेका थिए। शपथ ग्रहणपछि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले गोर्खा समाज, विद्यार्थी तथा समग्र समाजको हितमा समर्पित भएर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी अतिथि तथा प्रतिनिधिहरूले आमेरिगोग क्षेत्रमा आग्सुको संगठनलाई थप सुदृढ गर्दै सामाजिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरे। समारोहले संगठनभित्र नयाँ ऊर्जा र उत्साह सञ्चार गर्नुका साथै समाजको हितमा एकताबद्ध भएर अघि बढ्ने सन्देश दिएको थियो।

प्रतिवेदक : उत्तम शर्मा, सभापति, आग्सु कामरूप महानगर जिल्ला समिति

📤 Share this story
Scroll to Top