
बङगाईगाउँ, ६ सेप्टेम्बर २०२६: बङगाईगाउँ विश्वविद्यालय आग्सु इकाईको प्रतिनिधि सभा ६ सेप्टेम्बर २०२६ का दिन सम्पन्न भएको छ। विश्वविद्यालय इकाईका कार्यवाहक सभापति नुरञ्जन अधिकारीको सभापतित्वमा सम्पन्न प्रतिनिधि सभामा अखिल असम गोर्खा छात्र संघ (आग्सु), बङगाईगाउँ जिल्ला समितिका सभापति श्रीमान प्रभाकर छेत्री ज्यूका साथै जिल्ला समितिका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिनिधि सभामा अघिल्लो कार्यकालका सभापतिले व्यक्तिगत कारणवश आफ्नो पदबाट राजीनामा दिएपछि पुरानो समिति विघटन गरी आगामी २०२६–२०२७ कार्यकालका लागि नयाँ समिति गठन गरिएको छ ।सभाले सर्वसम्मत रूपमा श्री रोहन कटुवाललाई सभापति र सुश्री दीपा सोनारलाई पुनः मूल सचिव पदमा चयन गरेको छ।
नवनिर्वाचित समितिले विश्वविद्यालयमा अध्ययनरत गोर्खा विद्यार्थीहरूको हकहित र अधिकारका लागि सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, विद्यार्थीहरूबीच एकता, शैक्षिक विकास, सामाजिक उत्तरदायित्व तथा संगठनको सुदृढीकरणका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइएको छ।
प्रतिनिधि सभाबाट चयन भएको नयाँ नेतृत्वले बङगाईगाउँ विश्वविद्यालयमा अध्ययनरत गोर्खा विद्यार्थीहरूको समस्या तथा आवश्यकताका विषयमा संगठित रूपमा आवाज उठाउँदै आग्सु इकाई लाई अझ बलियो, सक्रिय र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई संगठनसँग जोड्दै उनीहरूको शैक्षिक तथा सामाजिक हितका विषयलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा पनि जोड दिइएको छ।
नवनिर्वाचित सभापति रोहन कटुवाल र मूल सचिव दीपा सोनार सहित सम्पूर्ण नयाँ समितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा विद्यार्थी तथा समाजको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
प्रतिवेदक: योगेश गिरि, सूचना एवं प्रविधि सचिव, आग्सु, बङगाईगाउँ जिल्ला समिति।