
निजलगुरी, चिराङ, १२ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), सुनगाभा आञ्चलिक समितिको एक टोलीले बीटीआर गोर्खा समाज, डुवर्स आञ्चलिक समितिका सभापति श्री दीपेन प्रधानको निजलगुरीस्थित निवासमा पुगेर उहाँका दुई वर्ष चार महिनाका सुपुत्र स्वर्गीय दिशान्त प्रधानको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
सुनगाभा आञ्चलिक समितिका सभापति श्री नबिन थापाको नेतृत्वमा पुगेको टोलीले शोकसन्तप्त परिवारसँग भेट गरी दिवंगत बालकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ। सो अवसरमा समितिको तर्फबाट समवेदना पत्र हस्तान्तरण गर्दै यस दुःखद घडीमा परिवारसँग आफूहरू साथमा रहेको प्रतिबद्धता व्यक्त गरिएको थियो।
दुई वर्ष चार महिनाको अबोध बालक दिशान्त प्रधानको असामयिक निधनले प्रधान परिवारसँगै सम्पूर्ण गोर्खा समाजलाई मर्माहत बनाएको जनाउँदै टोलीले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको थियो। साथै, शोकसन्तप्त परिवारलाई यस अपूरणीय क्षतिको पीडा सहन सक्ने धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने कामना गरिएको थियो।
उक्त श्रद्धाञ्जली तथा समवेदना कार्यक्रममा सुनगाभा आञ्चलिक समितिका पूर्व सभापति श्री टंकमणि घिमिरे, उपसभापति श्री दीपक शर्मा, संगठनिक सचिव श्री किरण नेपाल, शिक्षा सचिव श्री पराग तिम्सिना तथा निजलगुरी शाखा समितिका सभापति श्री प्रीतिराज भट्टराईको सहभागिता रहेको थियो। साथै, देउश्री शाखा समितिका सभापति श्री मिलन गिरी र देउश्री शाखा समितिका पूर्व सभापति श्री अनुराग तिम्सिना पनि उपस्थित थिए।
आग्सु सुनगाभा आञ्चलिक समितिले शोकसन्तप्त प्रधान परिवारप्रति पुनः गहिरो समवेदना व्यक्त गर्दै दिवंगत दिशान्त प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
प्रतिवेदक: श्री नबिन थापा, सभापति, आग्सु, सुनगाभा आञ्चलिक समिति।