
टंला,१६ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सू), टंला आञ्चलिक समितिको कार्यकारिणी सभा बुधबार टंलामा सम्पन्न हुन्छ। आञ्चलिक समितिका सभापति सुरज कार्कीको सभापतित्वमा सम्पन्न सभाको सञ्चालन कार्यवाहक मूल सचिव चन्दन छेत्रीले गरेका थिए।
सभाको प्रारम्भमा गोर्खाली गायन क्षेत्रमा अमूल्य योगदान पुर्याउनुभएका चर्चित गायक स्वर्गीय हुकुमलाल मगर तथा युवा छात्र नेता एवं धनश्रीघाट आञ्चलिक समितिका खेल सचिव स्वर्गीय पारशमणि नेवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो।
सभामा अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिका सांस्कृतिक सचिव श्री त्रिदेव विष्ट, उदालगुडी जिल्ला समितिका उपसभापति श्री किरण सिग्देल, कार्यकारिणी सदस्य श्री विजु बराल लगायत आञ्चलिक समितिका पदाधिकारी तथा नेतृत्वहरूको उपस्थिति रहेको थियो।
सभामा आगामी उदालगुडी जिल्ला समितिको ४३औँ द्विवार्षिक अधिवेशनका सम्बन्धमा आवश्यक छलफल गर्नुका साथै टंला आञ्चलिक समितिले सञ्चालन गर्दै आएका विभिन्न सांगठनिक तथा सामाजिक गतिविधिको समीक्षा गरिएको थियो। साथै, आगामी दिनमा संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने विषयमा पनि छलफल हुन्छ।
प्रतिवेदक: श्री सुरज कार्की, सभापति, आग्सु, टंला आञ्चलिक समिति।