All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

नवनिर्वाचित जिल्ला नेतृत्वलाई बान्दरगुरी आञ्चलिक समितिद्वारा अभिनन्दन।

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:06 AM

बान्दरगुरी, २२ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बान्दरगुरी आञ्चलिक समितिको आयोजनामा आग्सु उदालगुडी जिल्ला समितिको ४३औँ द्विवार्षिक प्रतिनिधि सभाबाट निर्वाचित नवनिर्वाचित जिल्ला नेतृत्वलाई अभिनन्दन गरिएको छ।

प्रतिनिधि सभाबाट सभापति पदमा विकाश भट्टराई, मूलसचिव पदमा पवन खनाल तथा कार्यकारिणी सदस्यका रूपमा हेमराज छेत्री र गंगा छेत्री निर्वाचित भएको अवसरमा बान्दरगुरी आञ्चलिक समितिले विशेष अभिनन्दन कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमको अध्यक्षता बान्दरगुरी आञ्चलिक समितिका सभापति किरण अधिकारीले गरेका थिए भने सञ्चालन तथा व्यवस्थापन आञ्चलिक समितिका मूलसचिव सागर छेत्रीले गरेका थिए।

अभिनन्दन कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिका उपसभापति दुर्गा बस्नेत, असम साहित्य सभाका केन्द्रीय समितिका साहित्य सचिव राम उपाध्याय, असम गोर्खा सम्मेलन महिला प्रकोष्ठकी सचिव तारा खड्का, असम गोर्खा सम्मेलन बान्दरगुरी शाखा समितिका सभापति खेम शिवाकोटी तथा मूलसचिव इन्द्र तिम्सिनालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। शिक्षागुरु किशोर प्रधान र हरि छेत्रीका साथै बान्दरगुरी आञ्चलिक समितिका पदाधिकारी, कार्यकर्ता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा उपस्थित अतिथि तथा शुभेच्छुकहरूले नवनिर्वाचित जिल्ला नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, नयाँ नेतृत्वले संगठनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा नवनिर्वाचित जिल्ला नेतृत्वलाई सम्मान तथा शुभकामना व्यक्त गर्दै संगठनको आगामी कार्यदिशा र सामाजिक उत्तरदायित्वका विषयमा समेत विचार–विमर्श गरिएको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिवेदक: श्री कालिदास छेत्री, शिक्षा सचिव, बान्दरगुरी आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top