All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #55
•
November 5, 2026

८२औँ बलिदान दिवस तथा १२औँ शहीद मेजर दुर्गा मल्ल स्मृति फुटबल प्रतियोगिता–२०२६ को स्वागतकारिणी समिति औपचारिक रूपमा विघटन

📅 November 5, 2026
✍️ AAGSU
🕒 12:06 AM

खौराङ, १ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), खौराङ आञ्चलिक समितिको आयोजनामा सम्पन्न ८२औँ बलिदान दिवस तथा १२औँ शहीद मेजर दुर्गा मल्ल स्मृति फुटबल प्रतियोगिता–२०२६ लाई सफलतापूर्वक सञ्चालन गर्न गठित स्वागतकारिणी समितिको अन्तिम सभा आज सभापति पूर्ण छेत्रीको सभापतित्वमा सम्पन्न भएको छ। सभाले कार्यक्रम सञ्चालनका क्रममा भएको सम्पूर्ण आर्थिक कारोबारको आय–व्यय विवरण सर्वसम्मत रूपमा अनुमोदन गर्दै स्वागतकारिणी समितिलाई औपचारिक रूपमा विघटन गरेको छ।

सभामा सभापति पूर्ण छेत्रीले कार्यक्रम सफल बनाउन स्वागतकारिणी समितिका सम्पूर्ण पदाधिकारी, सदस्य, सहयोगी संस्था, दाताहरू तथा स्थानीयवासीले पुर्‍याएको योगदानको प्रशंसा गर्दै सामूहिक एकता, सहकार्य र जिम्मेवारीबोध नै कुनै पनि सामाजिक तथा संगठनात्मक कार्यक्रमको सफलताको आधार भएको बताउनुभयो।

सभाको निर्धारित कार्यसूचीअनुसार समितिका मूल सचिव किशोर सिर्पालीले कार्यक्रमसँग सम्बन्धित आर्थिक कारोबारको विस्तृत आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरणमाथि आवश्यक छलफल तथा समीक्षा गरेपछि सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। त्यसैगरी, कार्यक्रम सञ्चालनका क्रममा प्राप्त अनुभव, उपलब्धि तथा चुनौतीका विषयमा समेत छलफल गर्दै आगामी दिनमा यस्ता गतिविधिलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरिएको थियो।

सभामा उपस्थित पदाधिकारी तथा सदस्यहरूले शहीदहरूको त्याग र बलिदानको स्मरणमा आयोजित उक्त कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट प्राप्त सहयोग, सद्भाव र सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा पनि संगठनको उद्देश्य र आदर्शअनुरूप अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस अवसरमा सभापति पूर्ण छेत्रीले कार्यक्रम सफल बनाउन अहोरात्र खटिने समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, आर्थिक एवं भौतिक सहयोग प्रदान गर्ने दाताहरू, विभिन्न संघ–संस्था, स्थानीयवासी, खेलप्रेमी, शुभचिन्तक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो। साथै, कार्यक्रम सञ्चालनका क्रममा जान–अन्जानमा कुनै कमी–कमजोरी वा त्रुटि हुन गएको भए त्यसलाई सकारात्मक रूपमा लिइदिनुहुन उहाँले आग्रह गर्नुभयो।

अन्ततः सभामा छलफलका लागि निर्धारित सम्पूर्ण विषयहरू सम्पन्न भएपछि सभापति पूर्ण छेत्रीले उपस्थित सबैप्रति आभार व्यक्त गर्दै सभाको समापन गर्नुभयो। सभाको समापनसँगै कार्यक्रम सफलतापूर्वक सञ्चालनका निम्ति गठित स्वागतकारिणी समिति औपचारिक रूपमा विघटन भएको घोषणा गरियो।

शहीदहरूको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले गोर्खा समाजमा आपसी एकता, संगठनात्मक भावना, सामाजिक सद्भाव तथा खेलकुदप्रतिको उत्साह अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।


प्रतिवेदक:- नारायण दाहाल, सचिव- खौराङ आञ्चलिक समिति ।

📤 Share this story
Scroll to Top