
उदालगुडी, २ नोभेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी जिल्ला समितिको दोस्रो पूर्ण कार्यकारिणी सभा २ नोभेम्बरका दिन जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागितामा सम्पन्न भएको छ। सभामा संगठनको सांगठनिक सुदृढीकरण, शैक्षिक विकास, खेलकुद गतिविधि तथा गोर्खा समुदायको सामाजिक एवं भूमि अधिकारसँग सम्बन्धित विभिन्न समसामयिक विषयहरूमाथि विस्तृत छलफल तथा विचारविमर्श गरिएको थियो।
सभाले संगठनलाई तल्लो तहदेखि नै थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
सभाले क्षेत्रीय समितिको आगामी प्रतिनिधि सभामा जिल्ला अन्तर्गतका क्षेत्रीय समितिका वर्तमान वित्त सचिव श्री मनिराज छेत्रीज्यूलाई मूलसचिव पदको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ। उहाँको सांगठनिक योगदान तथा समर्पणलाई ध्यानमा राख्दै उक्त प्रस्ताव पारित गरिएको हो।
त्यसैगरी, जिल्लाभित्रका विद्यार्थीहरूको शैक्षिक स्तरोन्नति, उचित मार्गदर्शन तथा भविष्यको शैक्षिक योजना निर्माण गर्ने उद्देश्यले एक उच्चस्तरीय शिक्षा सल्लाहकार समिति गठन गर्ने निर्णय गरिएको छ। उक्त समितिमा अग्रज शिक्षाविद्हरू लक्ष्मण अधिकारी, मोहन कुमार राउत तथा स्याम राईलाई समावेश गरी समितिलाई पूर्णता दिने प्रस्ताव पारित भएको छ।
युवा विद्यार्थीहरूको नेतृत्व क्षमता विकास तथा संगठनमा सक्रिय सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न महाविद्यालय एकाइबाट योग्य सदस्यहरूलाई जिल्ला समितिमा समावेश गर्ने निर्णयसमेत गरिएको छ। यसै निर्णयअनुसार डिमाकुची कलेज एकाइका कर्ण प्रधान तथा टंला कलेज एकाइका अजय छेत्रीज्यूलाई सह-शिक्षा सचिव पदमा मनोनयन गरिएको छ।
गोर्खा समुदायको सामाजिक तथा भूमि अधिकारको संरक्षण र संवर्द्धनका विषयलाई विशेष प्राथमिकता दिँदै जिल्लाभरि व्यापक जनचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय सभाले गरेको छ। समुदायका जनतालाई आफ्नो संवैधानिक, कानुनी तथा भूमि अधिकारबारे सचेत गराउने उद्देश्यले गाउँस्तरसम्म सचेतनामूलक सभा तथा कार्यक्रमहरू आयोजना गरिने निर्णय गरिएको छ।
संगठन विस्तार तथा सांगठनिक कार्यभारलाई थप व्यवस्थित बनाउने क्रममा पशुपति पोख्रेल र नारायण दाहाललाई जिल्ला समितिमा समावेश गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ। सोहीअनुसार पशुपति पोख्रेललाई कार्यालय सचिव तथा नारायण दाहाललाई सह-मुखपत्र सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ।
यसका अतिरिक्त जिल्लाभित्र लुकेर रहेका खेलकुद प्रतिभाहरूको पहिचान, प्रोत्साहन तथा विकासका निम्ति आगामी दिनहरूमा विभिन्न खेलकुद प्रतियोगिता र रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा समेत विस्तृत छलफल गरिएको थियो।
सभाले संगठनको एकता, संस्थागत अनुशासन तथा गोर्खा समुदायको शैक्षिक, सामाजिक र सर्वाङ्गीण विकासका लागि सबै पदाधिकारी तथा सदस्यहरूलाई एकजुट भएर जिम्मेवारीपूर्वक अघि बढ्न आह्वान गर्दै बैठक सम्पन्न गरेको छ।
प्रतिवेदक : मनोज कुमार राउत-सचिव, उदालगुडी जिल्ला समिति