
डिमाकुची, ३१ अक्टोबर २०२६: आज शनिबार अखिल असम गोर्खा छात्र संघ (आग्सु), डिमाकुची कलेज एकाइको आयोजनामा डिमाकुची (बरङाजुली सत्र) प्राङ्गणमा छैटौँ रमाइलो भेटघाट समारोह भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा आग्सु उदालगुडी जिल्ला समितिका सभापति श्री बिकाश भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित भई विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रसँगै जातीय तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रूपमा अघि आएर काम गर्न आह्वान गर्नुभयो।
जिल्ला मूल–सचिव श्री रुपम आत्रेय विशिष्ट वक्ताका रूपमा उपस्थित रहनुभएको उक्त कार्यक्रममा गोरेश्वर महाविद्यालयका प्रवक्ता डा. दीपक बजगाईं मुख्य प्रेरक वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी, जिल्ला शिक्षा सचिव श्री सञ्जय छेत्रीले विद्यार्थीहरूलाई एकताबद्ध गर्दै विद्यार्थी जीवनमा सिकेको छात्र राजनीति, सांगठनिक संरचना तथा नेतृत्वदायी भूमिकाको महत्त्वबारे प्रेरणादायी मन्तव्य राख्दै भविष्यमा सामाजिक तथा सांगठनिक क्षेत्रमा योगदान पुर्याउन आवश्यक सुझाव प्रदान गर्नुभयो।
समारोहमा जिल्ला समितिका दुई जना उपसभापति, सांगठनिक सचिवलगायत जिल्ला नेतृत्व, क्षेत्रीय समितिका सम्माननीय सदस्य सुदर्शन भुसाल, बामुनजुली आञ्चलिक समिति, डिमाकुची आञ्चलिक समिति, टंगला आञ्चलिक समितिका प्रतिनिधिहरू तथा विभिन्न महाविद्यालय एकाइका नेतृत्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस भेटघाट समारोहले गोर्खा विद्यार्थीहरूबीच आपसी एकता, भाइचारा र सांगठनिक चेतना अभिवृद्धि गर्नुका साथै उनीहरूलाई शैक्षिक, जातीय तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको छ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने आयोजक समिति तथा डिमाकुची आञ्चलिक समितिप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।
प्रतिवेदक : मनोज कुमार राउत- सचिव, उदालगुडी जिल्ला समिति