
गोलाघाट, ३१ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (AAGSU) गोलाघाट कलेज इकाईको आयोजनामा २०औँ गोर्खा विद्यार्थी सामाजिक मिलन समारोह अर्थात ‘रमाइलो भेटघाट’ शनिबार, ३१ अक्टोबर २०२६ का दिन गोलाघाट जिल्ला पुस्तकालयको सभागारमा भव्यताका साथ सम्पन्न भएको छ। बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा विद्यार्थी, शिक्षाविद्, विभिन्न सामाजिक तथा साहित्यिक सङ्घ-संस्थाका प्रतिनिधि एवं विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ गोलाघाट जिल्ला समितिका सभापति श्री मेगराज सुनार प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने गोलाघाट जिल्ला समितिका महासचिव श्री रुद्र छेत्री विशेष वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो।
त्यसैगरी, गोलाघाट जिल्ला समितिका उपाध्यक्ष श्री भागीरथ पौडेल, सह सचिव सुश्री एनिशा घिमिरे, सांगठनिक सचिव श्री आस्मन श्रेष्ठ तथा कार्यकारिणी सदस्य श्री आदित्य खनालको उपस्थिति रहेको थियो। साथै, आसाम गोर्खा छात्र संघको केन्द्रीय समितिका श्री घनश्याम खनालले पनि कार्यक्रममा सहभागिता जनाउनुभएको थियो।
कार्यक्रममा असम साहित्य सभाको गोलाघाट जिल्ला समितिका कार्यकारी अध्यक्ष श्री मुन प्रधान तथा पश्चिम गोलाघाट गोर्खा सम्मेलनकी अध्यक्ष श्रीमती रीता शर्माको विशेष उपस्थिति रहेको थियो।
गोलाघाट कलेज इकाईका पूर्व पदाधिकारी तथा सल्लाहकारहरूमा पूर्व महासचिव श्री राहुल शर्मा, पूर्व महासचिव श्री बृजेन्द्र राणा तथा पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार श्री निखिल उपाध्यायको उपस्थिति रहेको थियो। शैक्षिक क्षेत्रबाट देवराज रोय कलेज, गोलाघाटका वनस्पति विज्ञान विभागका विभागाध्यक्ष डा. रोशन शर्मा तथा वीराङ्गना सती साधनी राज्यिक विश्वविद्यालयका सहायक प्राध्यापक डा. विवेक बरुवा थापाले कार्यक्रममा सहभागिता जनाउनुभएको थियो। यसका अतिरिक्त, जोरहाट जिल्ला गोर्खा विद्यार्थी सङ्घका अध्यक्ष तथा महासचिव, जे.बी. विश्वविद्यालय गोर्खा इकाईका अध्यक्ष तथा महासचिव, सरुपथार कलेज इकाई, बरपथार कलेज इकाई र बोकाखात कलेज इकाई, AAGSU का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अनन्या जनजातिका अध्यक्ष तथा महासचिव पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। गोलाघाट कलेज इकाई, AAGSU अन्तर्गतका विभिन्न कलेजका छात्र सङ्घका अध्यक्ष तथा महासचिवहरूको सहभागिताले कार्यक्रमलाई अर्थपूर्ण र विशेष बनायो।
गोलाघाट कलेज इकाईका उपाध्यक्ष श्री सौरभ उपाध्याय तथा महासचिव सुश्री मञ्जु कार्कीको सञ्चालानामा समापन भएको २०औँ ‘रमाइलो भेटघाट’ समारोहमा गोर्खा समुदायको मौलिक संस्कृति, परम्परा तथा सम्पदाको झल्को दिने विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। मारुनी नृत्य, खुकुरी नृत्य, दसैँ तथा तिहारका सांस्कृतिक झलक, बिहु नृत्य, सामूहिक नृत्य, जोडी नृत्य, गायनलगायत विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए। साथै, आसामका विभिन्न समुदायको सांस्कृतिक विविधता र आपसी सद्भावलाई समेत प्रस्तुतिहरूमार्फत उजागर गरिएको थियो।
कार्यक्रमको अर्को प्रमुख आकर्षणका रूपमा फ्रेसर्स र्याम्प वाक रहेको थियो। उक्त कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो आत्मविश्वास, व्यक्तित्व तथा प्रतिभाको प्रदर्शन गरेका थिए।
प्रतिवेदक: एनिशा घिमिरे, सह-सचिव, अखिल असम गोर्खा छात्र संघ, गोलाघाट जिल्ला समिति।