All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #55
•
November 5, 2026

भट्टदेव विश्वविद्यालय आग्सु एकाइद्वारा आयोजित तेस्रो वार्षिक ‘रमाइलो भेटघाट’ समारोह पाठशालामा भव्यताका साथ सम्पन्न

📅 November 5, 2026
✍️ AAGSU
🕒 12:07 AM

पाठशाला, १ नोभेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), भट्टदेव विश्वविद्यालय एकाइको आयोजनामा तेस्रो वार्षिक ‘रमाइलो भेटघाट’ समारोह दिनभरि विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमका साथ पाठशालास्थित नाट्यमन्दिरमा भव्यतापूर्वक सम्पन्न भएको छ।

आइतबार बिहान १० बजेदेखि सुरु भएको समारोहको प्रारम्भ एकाइकी सभानेत्री रीमा देवीले झण्डोत्तोलन गरी गर्नुभएको थियो। त्यसपछि एकाइका मूलसचिव उमेश क्षेत्रीले शहीद तर्पण कार्यक्रम सम्पन्न गर्नुभएको थियो। भट्टदेव विश्वविद्यालयको वनस्पति विज्ञान विभागका प्रमुख प्राध्यापक कनक दासले दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गर्नुभएको थियो।

समारोहमा मुख्य अतिथिका रूपमा उपस्थित भट्टदेव विश्वविद्यालयका उपकुलपति प्राध्यापक धनपति डेकाले गोर्खा समुदायको समृद्ध संस्कृति, इतिहास, परम्परा तथा भ्रातृत्व झल्काउने यस्ता कार्यक्रमले समाजमा आपसी एकता, सद्भाव र भाइचाराको सम्बन्धलाई अझ सुदृढ बनाउने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिका शिक्षा सचिव भोजराज शर्मा, सांस्कृतिक सचिव त्रिदेव बिष्ट, शिक्षा सल्लाहकार रोशन गुरुङ, बीटीसी क्षेत्रीय समितिका मूलसचिव राजु सुवेदी, बक्सा जिल्ला समितिका सभापति दीपेन्द्र कार्की, मूलसचिव हेमराज सापकोटा तथा मुखपत्र सचिव पृथु पराजुलीको उपस्थिति रहेको थियो। त्यसैगरी नेपाली साहित्य सभाकी उपसभानेत्री जयन्ती कला देवी, भट्टदेव विश्वविद्यालयका वनस्पति विज्ञान विभाग प्रमुख प्राध्यापक कनक दास, बीबी किसान महाविद्यालयका सहायक प्राध्यापक देवर्षि अधिकारी, असम जातीयतावादी युवा-छात्र परिषद् (AJYCP) का सहसचिव मृदुल तालुकदार तथा भट्टदेव विश्वविद्यालय आसु एकाइका सभापति विशाल दाससमेत कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।

समारोहको प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएका विविध सांस्कृतिक कार्यक्रमहरूले उपस्थित दर्शक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएको थियो। विशेषगरी गोर्खा समुदायको मौलिक रीति–रिवाज, परम्परा, लोकसंस्कृति तथा सांस्कृतिक विविधता झल्काउने प्रस्तुतिहरूका साथै देउसी कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो।

यस अवसरमा वक्ताहरूले यस्ता सांस्कृतिक तथा सामाजिक कार्यक्रमले विभिन्न जाति, जनजाति र समुदायबीच आपसी समझदारी, सद्भाव, सहिष्णुता तथा भ्रातृत्वको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गर्नुभयो।

आग्सु भट्टदेव विश्वविद्यालय एकाइकी सभानेत्री रीमा देवी तथा मूलसचिव उमेश क्षेत्रीको नेतृत्वमा आयोजित उक्त समारोहको सञ्चालन एकाइका पूर्व सभापति ऋतम दुङ्गेलले गर्नुभएको थियो। कार्यक्रमले विश्वविद्यालय परिसरमा अध्ययनरत गोर्खा विद्यार्थीहरूबीच आपसी परिचय, एकता तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको आयोजक पक्षले जनाएको छ।

प्रतिवेदक : पवन सोनारी-सूचना एवं प्रविधि सचिव, बक्सा जिल्ला समिति

📤 Share this story
Last Story in Issue →
Scroll to Top