
माकुम, ३ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), माकुम आञ्चलिक समितिले माकुमको चाँदमारीस्थित स्वर्गीय अशोक थापाको निज निवासमा उपस्थित भई उहाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
१६ मार्च १९८६ मा जन्मनुभएका अशोक थापाको गत २६ अक्टोबर २०२६ का दिन आकस्मिक निधन भएको थियो। उहाँ श्रीमान् विशाल थापाका भाइ हुनुहुन्थ्यो। उहाँले आफ्नो पछाडि श्रीमती, दुई छोरी तथा परिवारका अन्य सदस्यहरूलाई शोकाकुल अवस्थामा छोडेर जानुभएको छ।
उहाँको असामयिक निधनले परिवारजनमा अपूरणीय क्षति पुर्याउनुका साथै आफन्त, इष्टमित्र तथा उहाँसँग आत्मीय सम्बन्ध राख्ने सम्पूर्णमा गहिरो शोकको वातावरण सिर्जना गरेको छ।
यस दुःखद घडीमा आग्सु माकुम आञ्चलिक समितिका सभापति मिलन अधिकारीले समितिको तर्फबाट दिवंगत आत्माको चिरशान्ति एवं सद्गतिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।
साथै, यस अपूरणीय वियोग सहन गर्ने शक्ति, धैर्य र आत्मबल शोकाकुल परिवारलाई ईश्वरले प्रदान गरून् भन्ने कामनासमेत समितिले गरेको छ।
प्रतिवेदक : मिलन अधिकारी, सभापति, माकुम आञ्चलिक समिति