
लखीपथार, २१ नोभेम्बर: आगामी सन् २०२७ मा आयोजना हुन गइरहेको गोर्खा महोत्सवको मिति औपचारिक रूपमा तय गरिएको छ।
लखीपथार आञ्चलिक समितिका सभापति रोहित छेत्रीको निवासमा आयोजित एक बैठकले महोत्सवको मिति निर्धारण गरेको हो।
अखिल असम गोर्खा छात्र संघ, माकुम आञ्चलिक समितिको पहलमा गोर्खा नारी परिषद् माकुम आञ्चलिक समिति तथा गोर्खा छात्र संघका तिनसुकिया, लखीपथार, डिगबोई र टिङराई आञ्चलिक समितिहरूको संयुक्त प्रयास एवं सम्पूर्ण अञ्चलवासीको सहयोगमा महोत्सव आयोजना गर्न लागिएको हो।
निर्धारित कार्यक्रमअनुसार गोर्खा महोत्सव २०२७ आगामी ८, ९ र १० जनवरी २०२७ मा तीन दिवसीय भव्य कार्यक्रमका रूपमा तिनसुकिया जिल्लाको माकुमस्थित रजनीकान्त बरदलै खेल मैदानमा आयोजना हुनेछ।
आयोजकहरूका अनुसार तिनसुकिया जिल्लामा पहिलोपटक गोर्खा महोत्सव आयोजना हुन लागेको हो। यस महोत्सवले गोर्खा समुदायको भाषा, साहित्य, कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा संवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सवलाई सफल र भव्य बनाउन सम्पूर्ण गोर्खा समुदाय तथा अञ्चलवासी आयोजक समितिले सहयोग र सहभागिताका लागि हार्दिक अपिल गरेको छ।
प्रतिवेदक: मिलन अधिकारी, सभापति, माकुम आञ्चलिक समिति