
रौता, २४ नोभेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को केन्द्रीय समितिसहित विभिन्न क्षेत्रीय, जिल्ला तथा आञ्चलिक समितिका पदाधिकारीहरूले रौता निवासी तथा आग्सु BTC क्षेत्रीय समितिका वित्त सचिव श्री मनिराज छेत्रीका पूजनीय पिता स्वर्गीय नरबहादुर छेत्रीको निवास प्राङ्गणमा उपस्थित भई दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
यस अवसरमा आग्सुको प्रतिनिधिमण्डलले स्वर्गीय नरबहादुर छेत्रीको तस्बिरमा माल्यार्पण तथा पुष्पाञ्जली अर्पण गर्दै उहाँले समाज र जातिको उत्थानका निम्ति पुर्याउनुभएको योगदानको स्मरण गरेको थियो। उहाँको १५ नोभेम्बर २०२६ का दिन ६२ वर्षको उमेरमा निधन भएको थियो। उहाँको निधनले परिवारमा मात्र नभई समग्र गोर्खा समाजमा अपूरणीय क्षति पुगेको आग्सुले जनाएको छ।
स्वर्गीय नरबहादुर छेत्री एक कर्मठ सामाजिक व्यक्तित्व, समर्पित शिक्षासेवी तथा समाजप्रति उत्तरदायी व्यक्तिका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनको लामो समय शिक्षा, सामाजिक सेवा तथा जातीय सङ्गठनको विकासमा समर्पित गर्नुभएको थियो। विशेषगरी उक्त क्षेत्रमा असम गोर्खा सम्मेलनको शाखा स्थापना गरी सङ्गठन विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले असम गोर्खा सम्मेलनको फाकिदिया शाखा समितिमा प्रतिस्थापक मूल–सचिवका रूपमा रहेर सङ्गठनलाई संस्थागत रूपमा अघि बढाउन उल्लेखनीय योगदान पुर्याउनुभएको थियो।
त्यसैगरी, बेलतला प्राथमिक विद्यालयका प्रधान शिक्षकका रूपमा उहाँले शैक्षिक क्षेत्रमा समेत महत्त्वपूर्ण सेवा पुर्याउनुभएको थियो। शिक्षा र सामाजिक चेतनाको विकाससँगै गोर्खा समाजको एकता, पहिचान तथा सङ्गठनात्मक सुदृढीकरणका निम्ति उहाँले देखाउनुभएको सक्रियता र समर्पण सदैव स्मरणीय रहनेछ। समाजमा शैक्षिक, सामाजिक तथा सङ्गठनात्मक योगदान पुर्याउने यस्ता अग्रज व्यक्तित्वको अभावले गोर्खा समाजलाई लामो समयसम्म खट्किरहने आग्सुको धारणा रहेको छ।
आग्सुले स्वर्गीय छेत्रीले आफ्नो जीवनकालमा जाति, समाज र सङ्गठनप्रति देखाउनुभएको निष्ठा, समर्पण तथा योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँप्रति कृतज्ञता व्यक्त गरेको छ। विशेषगरी गोर्खा सम्मेलनको शाखा स्थापनादेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा उहाँले निर्वाह गर्नुभएको भूमिका भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेर रहने विश्वास व्यक्त गरिएको छ। उहाँले समाजका निम्ति पुर्याउनुभएको योगदानको ऋण आग्सुले सदैव स्मरण गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
उक्त शोक तथा श्रद्धाञ्जली कार्यक्रममा आग्सु केन्द्रीय समितिका मूल–सचिव सोमराज सोनार, उपसभापति दुर्गा बस्नेत, सङ्गठनिक सचिव किरण खड्का, BTC क्षेत्रीय समितिका सभापति रोहित कुमार दाहाल, मूल–सचिव राजी सेबेदीलगायत केन्द्रीय तथा क्षेत्रीय समितिका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसका साथै उदालगुडी, तामुलपुर, बाक्सा तथा चिराङ जिल्ला समितिका पदाधिकारीहरू र विभिन्न आञ्चलिक समितिका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण प्रतिनिधिहरूले स्वर्गीय नरबहादुर छेत्रीको सामाजिक, शैक्षिक तथा सङ्गठनात्मक योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरेका थिए। साथै शोकाकुल परिवारलाई यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र दिवङ्गत आत्माले चिरशान्ति प्राप्त गरून् भनी कामना गरेका थिए।
आग्सुले यस दुःखद घडीमा श्री मनिराज छेत्री तथा सम्पूर्ण शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै स्वर्गीय नरबहादुर छेत्रीले गोर्खा जाति र समाजका लागि पुर्याउनुभएको अतुलनीय योगदान सदैव स्मरणीय रहने जनाएको छ।
प्रतिवेदक : मनोज कुमार राउत-सचिव, उदालगुडी जिल्ला समिति