
जागीरोड, २५ नोभेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (AAGSU), मरिगाउँ जिल्ला समितिको उद्योगमा तथा आग्सु जागीरोड महाविद्यालय एकाइको आतिथ्यमा गत आइतबार (२२ नोभेम्बर २०२६) जागीरोड महाविद्यालयको प्रेक्षागृहमा एकदिवसीय “रमाइलो भेटघाट (गोर्खा नवागत स्वागत सभा-२०२६)” भव्य एवं सभ्य वातावरणमा सम्पन्न भएको छ। “नयाँ साथ, नयाँ यात्रा, उज्यालो भविष्य” भन्ने मूल नाराका साथ महाविद्यालयमा नयाँ भर्ना भएका गोर्खा छात्र-छात्राहरूलाई स्वागत गर्न तथा जातीय कृष्टि-संस्कृतिलाई जीवन्त राख्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमको सुरुवात बिहान ०९:०० बजे आग्सु मरिगाउँ जिल्ला समितिका सभापति पदम थापा र जागीरोड महाविद्यालय एकाइका सभापति सन्देश विष्टद्वारा संयुक्त रूपमा झण्डोत्तोलन गरी गरिएको थियो। त्यसपश्चात् जिल्ला समितिका मूल-सचिव दीपांकर सेढाई र महाविद्यालय एकाइकी मूल-सचिव सञ्जुला सापकोटाद्वारा संयुक्त रूपमा शहीद-तर्पण अर्पण गरियो भने दीप प्रज्वलनसँगै कार्यक्रमलाई औपचारिक रूपमा अघि बढाइएको थियो।
आम-सभामा जिल्ला समितिका मूल-सचिव दीपांकर सेढाईले स्वागत भाषण राख्दै नव-आगन्तुक विद्यार्थीहरूलाई संगठनको तर्फबाट हार्दिक स्वागत गर्नुभएको थियो। कार्यक्रममा जागीरोड महाविद्यालयका प्राचार्य डा. भवेन चन्द्र नेओग, अखिल असम गोर्खा छात्र संघ (आग्सु) का केन्द्रीय मूल-सचिव सोमराज सोनार तथा केन्द्रीय सचिव विकास पोखरेलज्यूको विशेष एवं गरिमामय उपस्थिति रहेको थियो। वक्ताहरूले नव-आगन्तुक विद्यार्थीहरूलाई उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिँदै अनुशासन, एकता र उच्च शिक्षाका माध्यमबाट समाज र राष्ट्र निर्माणमा अग्रसर हुन प्रेरित गरे।
कार्यक्रमको दोस्रो सत्रमा आयोजित गोर्खा लोक-नृत्य तथा सांस्कृतिक अनुष्ठानमा विद्यार्थीहरूले मौलिक नृत्य र गीत प्रस्तुत गरेका थिए। साथै, सांस्कृतिक साँझको विशेष आकर्षणका रूपमा चर्चित कलाकार गोपाल राज शर्मा तथा आग्सु मरिगाउँ जिल्ला समितिका सांस्कृतिक सचिव रुद्र थापा (विकी थापा) को बेजोड सांगीतिक प्रस्तुतिले उपस्थित दर्शक तथा विद्यार्थीहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।
प्रतिवेदक: आदित्य शर्मा- सुचना एवं प्रविधि सचिव, मरिगाउँ जिल्ला समिति।