
जागीरोड, १६ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (AAGSU), मरिगाउँ जिल्ला समिति अन्तर्गत रहेको आग्सु जागीरोड कलेज एकाइले आफ्नो सांगठनिक विस्तार तथा विद्यार्थी सशक्तीकरण अभियानलाई निरन्तरता दिँदै बिहीबार (१५ अक्टोबर २०२६) नेली सिनियर सेकेन्डरी स्कूल (Nellie Senior Secondary School) मा एक महत्त्वपूर्ण बैठक सम्पन्न गरेको छ।
उक्त बैठकको मुख्य उद्देश्य विद्यार्थीहरूबीच आपसी एकता, सहकार्य र शैक्षिक हितको भावनालाई थप मजबुत बनाउनु रहेको थियो। कार्यक्रमको क्रममा नेली सिनियर सेकेन्डरी स्कूलका विद्यार्थीहरूसँग गहन छलफल गरियो र उनीहरूलाई विधिवत् रूपमा आग्सु जागीरोड कलेज युनिटमा आबद्ध गराइयो।
बैठकमा बोल्दै एकाइका प्रतिनिधिहरूले विद्यार्थीहरूको हक-अधिकार, शैक्षिक समस्याहरूको समाधान तथा अनुशासनयुक्त नेतृत्व निर्माण गर्नका लागि संगठन सधैँ तत्पर रहने बताए। एकता, सहकार्य र समग्र विद्यार्थीहरूको उज्ज्वल भविष्यका निम्ति संगठनलाई अझ सशक्त र बलियो बनाउने दिशामा यो कदम निकै प्रभावकारी र महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गरिएको छ।
यस अवसरमा उपस्थित विद्यार्थीहरूले पनि संगठनसँग जोडिएर विद्यार्थी हित तथा समाज सेवाका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। बैठक उत्साहजनक तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
प्रतिवेदक: आदित्य शर्मा- सुचना एवं प्रविधि सचिव, मरिगाउँ जिल्ला समिति।