
मरिगाउँ, १८ नोभेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (AAGSU), मरिगाउँ जिल्ला समितिको आयोजनामा आज असमका सुप्रसिद्ध तथा जनप्रिय कलाकार जुबिन गर्ग (Zubeen Garg) को जन्मजयन्ती भव्य एवं सांगीतिक वातावरणमा मनाइएको छ।
जिल्ला समितिका सांस्कृतिक सचिव रुद्र थापाज्यूको विशेष नेतृत्वमा आज साँझ सिन्धिसर स्थित उहाँकै पीटुएफटु जिम सेन्टर (P2F2 Gym Center, Sindhisar) मा उक्त जन्मजयन्ती उत्सव सम्पन्न भएको हो।
कार्यक्रममा जिल्ला समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागी सदस्यहरूले जुबिन गर्गका लोकप्रिय र सदाबहार गीतहरू गाएर उहाँप्रतिको अगाध प्रेम, सम्मान र आत्मीयता प्रकट गर्दै जन्मजयन्तीको शुभकामना व्यक्त गरे।
यस अवसरमा वक्ताहरूले जुबिन गर्ग केवल एक उत्कृष्ट गायक मात्र नभई असमको कला, संस्कृति र युवा पुस्ताका लागि प्रेरणाको स्रोत रहेको उल्लेख गरे।
भौतिक रूपमा आज उहाँ हामीमाझ नभए तापनि उहाँका कालजयी गीत र सिर्जनाहरू सदैव अमर रहने विश्वासका साथ सांगीतिक प्रस्तुति र भावपूर्ण वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रमले संगठनका सदस्यहरूबीच सांस्कृतिक एकता र उहाँप्रतिको सम्मानलाई अझ प्रगाढ बनाएको छ।
प्रतिवेदक: आदित्य शर्मा- सुचना एवं प्रविधि सचिव, मरिगाउँ जिल्ला समिति।