All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #42
August 6, 2026

नि:शुल्क ग्रीष्मकालीन कक्षा सफलतापूर्वक सम्पन्न

📅 August 6, 2026
✍️ AAGSU
🕒 12:06 AM

लखीमपुर, १९ जुलाई: अखिल असम गोरखा छात्र संघ (आग्सु), लखीमपुर जिल्ला अन्तर्गत तारियानी आञ्चलिक समितिको आयोजनामा सञ्चालन गरिएको नि:शुल्क ग्रीष्मकालीन कक्षा (Summer Tuition) सफलतापूर्वक सम्पन्न भएको छ। गत ५ जुलाईदेखि सञ्चालनमा आएको उक्त शिक्षण कार्यक्रम १९ जुलाईका दिन आयोजित समापन समारोहका बीच सम्पन्न भएको हो।

नवौँ र दशौँ कक्षाका विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस नि:शुल्क शिक्षण शिविरले विद्यार्थीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। नियमित अध्ययनसँगै विषयगत ज्ञानलाई अझ सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको कक्षामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

समापन समारोहमा आग्सु लखीमपुर जिल्ला समितिका आइटी सचिव तथा आञ्चलिक प्रतिनिधि बाबु थापा, स्थानीय प्रतिष्ठित शिक्षक खगेन क्षेत्री तथा प्रधान शिक्षक देवराज शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उपस्थित अतिथिहरूले आग्सुले शिक्षा क्षेत्रमा सञ्चालन गरिरहेको यस्ता सामाजिक तथा शैक्षिक अभियानको खुलेर प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँहरूले सहभागी विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै अध्ययनप्रति निरन्तर लगाव राख्न प्रेरित गर्नुभयो।

कार्यक्रममा आयोजक समितिले नि:शुल्क कक्षालाई सफल बनाउन समय, श्रम र सहयोग प्रदान गर्ने सम्पूर्ण शिक्षकवर्ग, अभिभावक तथा सक्रिय सहभागिता जनाउने विद्यार्थीहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ। आग्सु तारियानी आञ्चलिक समितिले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक विकास र समाजोपयोगी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

प्रतिवेदक : लखिराम शर्मा, कार्यालय सचिव, अखिल असम गोरखा छात्र संघ (आग्सु)

📤 Share this story
Scroll to Top