
सापेखाती, २६ अप्रिल २०२६: मृत्यु जीवन यात्राको एक अनिवार्य तर अत्यन्तै मर्मान्तिक सत्य हो। यसै अकाट्य सत्यलाई आत्मसात गर्दै, सापेखाती क्षेत्रले आफ्नो एक असल अभिभावक, पूर्व छात्र नेता, कुशल समाज सङ्गठक तथा नामतोला उच्च माध्यमिक विद्यालयका पूर्व शिक्षक स्वर्गीय भक्त प्रधानलाई सदाका लागि गुमाएको छ। गत ११ अप्रिल, २०२६ शनिबारका दिन भएको उहाँको आकस्मिक निधनले सापेखाती लगायत सम्पूर्ण चराईदेउ जिल्लाका जनमानसमा गहिरो शोक छाएको छ र यसले गोर्खा समाजमा एक अपूरणीय क्षति पुर्याएको छ।
यसै दुःखद घडीमा, उहाँको आद्यश्राद्धको अवसर पारेर अखिल असम गोर्खा छात्र सङ्घ (आग्सु), सापेखाती आञ्चलिक समिति र चराईदेउ जिल्ला समितिका विभिन्न पदाधिकारीहरूले स्वर्गीय प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। यस कार्यक्रममा चराईदेउ जिल्ला समितिका सभापति अशोक लामा, शिक्षा सचिव बिकी प्रधान, कार्यालय सचिव बिकी थापा, आग्सु सापेखाती आञ्चलिक समितिका सभापति राजेश लिम्बु र मूल-सचिव सुमित गुरुङ उपस्थित हुनुहुन्थ्यो। यसका साथै, सापेखाती आञ्चलिक समितिका उपसभापतिअमन लिम्बु, सह-सचिव राहुल तामाङ, बरुवानगर शाखा समितिका सभापति बाबुल थापा र बरुवाबारी शाखाका मूल-सचिव रमेन प्रधान लगायतका अन्य सदस्यहरूले पनि उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई गहिरो समवेदना ज्ञापन गर्नुभयो।
स्वर्गीय भक्त प्रधानले गोर्खा समाजको उत्थान र शिक्षा क्षेत्रमा पुर्याउनुभएको अतुलनीय योगदानलाई आग्सु परिवारले सधैं कृतज्ञताका साथ स्मरण गरिरहनेछ। उहाँको सामाजिक निष्ठा र मार्गदर्शन भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत बनिरहनेछ। यस कठिन समयमा सम्पूर्ण आग्सु परिवार शोकाकुल परिवारको दुःखमा सहभागी हुदै उहाँको पुण्य आत्मालाई वैकुण्ठमा बास मिलोस् र शोक सन्तप्त परिवारजनलाई यो असीम पीडा सहन सक्ने धैर्य र शक्ति प्राप्त होस् भनी परमेश्वरसँग प्रार्थना गर्दछ।
प्रतिवेदक: राजेश लिम्बु-सभापति, सापेखाती आञ्चलिक समिति।