
तेजपुर, २५ मार्च २०२६ः अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिको बर्धित कार्यकारिणी सभा आज तेजपुर, नेपालिपट्टी स्थित गोर्खा सांस्कृतिक प्रकल्प एवं शोध केन्द्रको सभा गृहमा अत्यन्तै भव्य, गरिमामय र ऐतिहासिक वातावरणमा सम्पन्न भएको छ। संगठनको आह्वानमा आयोजित यस महत्वपूर्ण सभामा केन्द्रीय समितिका धेरै जस्तो पदाधिकारी, असमका प्रायः सम्पूर्ण जिल्ला समिति, धेरै वटा आञ्चलिक समिति तथा विश्वविद्यालय- महाविद्यालय इकाइ बाट उल्लेखनीय संख्यामा पदाधिकारी, प्रतिनिधिहरुको को उपस्थिति रहेको थियो, जसले संगठनको मजबुत संरचना र एकीकृत धारालाई झल्काएको छ।
सभामा बीटीसी क्षेत्रीय समिति, तिनसुकिया, धेमाजी, डिब्रुगढ, मजुली, गोलाघाट, लखीमपुर, बिस्वनाथ, शोणितपुर, उदालगुडी, तामुलपुर, बाक्सा लगायत असमका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले सक्रिय रूपमा आफ्नो धारणा राखेका थिए। सहभागीहरूले सबैले वर्तमान अवस्था, आगामी चुनौतीहरू र विशेषतः राजनीतिक सन्दर्भमा गोर्खा समुदायको भूमिका सुदृढ बनाउने विषयमा गम्भीरतापूर्वक छलफल गरेका थिए।
विशेषगरी आगामी असम विधान सभा निर्वाचनलाई केन्द्रमा राख्दै सभामा विस्तृत रणनीतिक छलफल गरिएको थियो। असम विधान सभामा गोर्खा समुदायको प्रतिनिधित्व बढाउने प्रमुख लक्ष्यलाई आत्मसात् गर्दै सभाले एक ऐतिहासिक तथा दूरगामी महत्वको निर्णय गरेको छ। छलफल पश्चात् सर्वसम्मत रूपमा यो निष्कर्ष निकालिएको छ कि जुनसुकै राजनीतिक दल, गठबन्धन वा स्वतन्त्र रूपमा किन नहोस्, गोर्खा समुदायका उम्मेदवारहरूलाई आग्सुले स्पष्ट रूपमा समर्थन गर्नेछ। यस निर्णयले गोर्खा एकताको सन्देशलाई सुदृढ पार्नुका साथै समुदायको राजनीतिक सशक्तीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

त्यसैगरी, कुनै एक निर्वाचन क्षेत्रमा एकभन्दा बढी गोर्खा उम्मेदवारहरू रहेमा सम्बन्धित आञ्चलिक समिति, जिल्ला समिति तथा आग्सुका सुविचारकहरूसँग समन्वय र परामर्श गरी उपयुक्त निर्णय लिने व्यवस्था गरिएको छ। यसले स्थानीय सन्दर्भ, जनभावना तथा संगठनात्मक सन्तुलनलाई मध्यनजर गर्दै विवेकपूर्ण निर्णय प्रक्रियालाई सुनिश्चित गर्ने विश्वास लिइएको छ।
सभामा आग्सुका पूर्व सभापति सुनिल कुमार छेत्री ले एक राष्ट्रिय दलबाट नादुवार बिधान सभा क्षेत्रबाट उम्मेदवारी प्राप्त गरेको विषय विशेष रूपमा उठान गरिएको थियो। यस सन्दर्भमा उक्त क्षेत्रमा आग्सुको विशेष ध्यान रहने, आवश्यक समन्वय, सहयोग र रणनीतिक समर्थन प्रदान गरिने विषयमा स्पष्ट धारणा व्यक्त गरिएको छ। सहभागीहरूले यसलाई गोर्खा समुदायका लागि महत्वपूर्ण अवसरको रूपमा समेत व्याख्या गरेका छन्।
यसै क्रममा केही पूर्व आग्सु नेतृत्वहरूले राजनीतिक दलमा आवद्ध भइसकेपछि संगठनका आन्तरिक विषयहरूलाई सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत सार्वजनिक रूपमा प्रस्तुत गरिरहेको विषयमा केन्द्रीय समितिले कडा आपत्ति जनाएको छ। संगठनको अनुशासन, मर्यादा र संस्थागत गरिमालाई कायम राख्न यस्ता गतिविधिहरूबाट टाढा रहन सम्बन्धित सबै पक्षलाई स्पष्ट आह्वान गरिएको छ। आन्तरिक विषयहरूलाई सार्वजनिक मञ्चमा ल्याउनु संगठनको हितविपरीत हुने उल्लेख गर्दै जिम्मेवार व्यवहार अपनाउन जोड दिइएको छ।
संगठनात्मक पुनर्संरचनाको क्रममा महत्वपूर्ण निर्णय स्वरूप, गत २२ मार्च २०२६ का दिन केन्द्रीय समितिका सांस्कृतिक सचिव राकेश लामाले दिएको राजीनामापछि रिक्त रहेको पदमा आजको सभाले सह–सांस्कृतिक सचिव त्रिदेव बिष्टलाई पदोन्नति गर्दै सांस्कृतिक सचिवको जिम्मेवारी प्रदान गरेको छ। यस निर्णयलाई संगठनको निरन्तरता, कार्यदक्षता र जिम्मेवारीको सन्तुलन कायम गर्ने दिशामा सकारात्मक कदमका रूपमा लिइएको छ।
समग्रमा, आजको बर्धित कार्यकारिणी सभाले संगठनात्मक एकता, अनुशासन, रणनीतिक स्पष्टता तथा राजनीतिक प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै आगामी निर्वाचनमा गोर्खा समुदायको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने दिशामा ठोस मार्गनिर्देशन प्रदान गरेको निष्कर्ष निकालिएको छ। सहभागीहरूले आग्सुलाई अझ सशक्त, जिम्मेवार र दूरदर्शी संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै सभा सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।