All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #23
March 26, 2026

डिगबोई आञ्चलिक समितिको नया समिति गठन सम्पन्न।

📅 March 26, 2026
✍️ AAGSU
🕒 12:06 AM

तिनसुकिया, २० मार्च २०२६ : अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समिति अन्तर्गत डिगबोई आञ्चलिक समितिको गठन डिगबोई बालिजान शिव मन्दिर प्राङ्गणमा एक भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतिनिधि सभा मार्फत सम्पन्न उक्त कार्यक्रममा क्षेत्रभरिका विद्यार्थी, बुद्धिजीवी तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको देखिन्थ्यो।

कार्यक्रमको मुख्य उद्देश्य डिगबोई क्षेत्रमा आग्सुको सांगठनिक संरचना सुदृढ बनाउनु र गोर्खा समुदायका विभिन्न समस्या तथा अधिकारका विषयमा सशक्त रूपमा आवाज उठाउने लक्ष्य राखिएको थियो। प्रतिनिधि सभाबाट सर्वसम्मत रूपमा रामु नेवारलाई अध्यक्ष र दीपक रेग्मीलाई सचिवको जिम्मेवारी प्रदान गर्दै नयाँ आञ्चलिक समिति गठन गरिएको हो। नवगठित समितिप्रति उपस्थित सदस्यहरूले पूर्ण विश्वास व्यक्त गर्दै आगामी दिनमा संगठनलाई अझ सशक्त र गतिशील बनाउने अपेक्षा गरेका छन्।

नवगठित समितिले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै डिगबोई क्षेत्रका गोर्खा समुदायका समस्या समाधान, शैक्षिक, सामाजिक तथा सांस्कृतिक उन्नयनका लागि निरन्तर काम गर्ने वाचा कसम खाएको छ। साथै, क्षेत्रका युवाहरूलाई संगठनमा आबद्ध गराउँदै नेतृत्व विकासमा जोड दिने तथा समाजका हरेक वर्गको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

उक्त प्रतिनिधि सभामा मुख्य पर्यवेक्षकको रूपमा जिल्ला सांगठनिक सचिव जतन प्रधानको उपस्थिति रहेको थियो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै संगठनलाई एकताबद्ध र अनुशासित रूपमा अगाडि बढाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँको साथ दिंदै जिल्ला उप सभापति सुमन छेत्री र शिक्षा सचिव खेम बहादुर छेत्रीले पनि नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनात्मक मजबुतीका लागि निरन्तर सक्रिय रहन आग्रह गर्नुभयो।

कार्यक्रममा अतिथिको रूपमा जिल्ला सभापति अशोक कुमार लामा, उप सभापति देव गुरुङ, मूल सचिव शेखर गुरुङ, सह सचिव गोपी छेत्री, मिलन शर्मा, सांगठनिक सचिव शंकर जैसी तथा प्रचार सचिव अरुण छेत्रीको उपस्थिति रहेको थियो। अतिथिहरूले आफ्नो मन्तव्य राख्दै आग्सुले गोर्खा समुदायको हकहितका लागि खेल्दै आएको भूमिकाको प्रशंसा गरे र नवगठित डिगबोई आञ्चलिक समितिले पनि सोही मार्गमा अघि बढ्ने विश्वास व्यक्त गरे।

यसका अतिरिक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा तथा युवाहरूको बाक्लो उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझै अर्थपूर्ण बनाएको थियो। सहभागीहरूले संगठनप्रति आफ्नो समर्थन जनाउँदै आगामी दिनहरूमा सहकार्य र सहयोग निरन्तर रहने विश्वास दिलाएका थिए।

समग्रमा, डिगबोई आञ्चलिक समिति गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ भने यसले आग्सुको संगठनात्मक विस्तार र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge) तिनसुकिया जिला समिति।

📤 Share this story
Scroll to Top