
किसान बजार, २३ अगस्त २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) किसान बजार आञ्चलिक समितिको आयोजनामा तथा बङगाईगाउँ टाउन आञ्चलिक समितिको सहयोगमा “Child Safety Awareness Programme” अर्थात् बाल सुरक्षा जागरूकता कार्यक्रम किसान बजारस्थित भागवती भोलानाथ क्लबमा सफलतापूर्वक सम्पन्न भएको छ। किसान बजार आञ्चलिक समितिका सभापति युवराज छेत्रीको नेतृत्वमा आयोजित कार्यक्रममा बालबालिका तथा अभिभावकहरूलाई बाल सुरक्षा, बाल संरक्षण तथा बाल अधिकारका विभिन्न पक्षबारे महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।
बालबालिका तथा अभिभावकहरूमा व्यक्तिगत सुरक्षा, डिजिटल सुरक्षा, सडक सुरक्षा तथा घरभित्रको सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। साथै, वर्तमान समाजमा बालबालिकाले सामना गरिरहेका विभिन्न सामाजिक, व्यक्तिगत तथा डिजिटल चुनौतीहरूबारे सहभागीहरूलाई सचेत गराइएको थियो।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) बङगाईगाउँ जिल्ला समितिका सभापति प्रभाकर छेत्री, मूल–सचिव बिनिता नेवार, केन्द्रीय समितिका वित्त सचिव रिजु छेत्री, गोर्खा जनकल्याण समिति किसान बजारका सभापति सहदेव छेत्री, बङगाईगाउँ जिल्ला बाल संरक्षण कार्यालयकी स्रोत व्यक्ति रुपज्योति बरुआ, सेवानिवृत्त प्रधान शिक्षक तथा संसारी भवन समिति किसान बजारका सभापति मानवीर पौडेल, बङगाईगाउँ टाउन आञ्चलिक समितिका सभापति बिक्रम पाठक तथा मूल–सचिव ओम दर्नाललगायत आमन्त्रित अतिथि तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमकी स्रोत व्यक्ति बङगाईगाउँ जिल्ला बाल संरक्षण कार्यालयकी रुपज्योति बरुआले बाल सुरक्षा, बाल संरक्षण, बालबालिकाको अधिकार तथा स्वतन्त्रता र वर्तमान समाजमा बालबालिकाले सामना गरिरहेका विभिन्न सामाजिक तथा व्यक्तिगत समस्याबारे विस्तृत जानकारी प्रदान गरिन्। उनले बालबालिकाको सुरक्षित वातावरण निर्माणमा परिवार, समुदाय तथा सम्बन्धित सबै पक्षको भूमिका महत्वपूर्ण हुने विषयमा सहभागीहरूको ध्यानाकर्षण गराइन्।
कार्यक्रममा Personal Safety, Digital Safety तथा Road & Home Safety सम्बन्धी विषयमा पनि सहभागीहरूलाई व्यावहारिक रूपमा जानकारी गराइएको थियो। बालबालिकाले आफ्नो व्यक्तिगत सुरक्षाप्रति सचेत रहनुपर्ने, असहज वा असुरक्षित परिस्थितिमा विश्वासिलो व्यक्तिसँग सहयोग माग्नुपर्ने तथा डिजिटल माध्यमको प्रयोग गर्दा आवश्यक सावधानी अपनाउनुपर्ने विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा बालबालिकाका लागि Emotion Awareness Activity समेत सञ्चालन गरिएको थियो। उक्त गतिविधिमार्फत बालबालिकालाई आफ्ना भावना पहिचान गर्न, त्यसलाई उचित रूपमा व्यक्त गर्न तथा आफूलाई असहज वा असुरक्षित महसुस भएको अवस्थामा विश्वासिलो अभिभावक वा व्यक्तिसँग खुलेर सहयोग माग्न प्रोत्साहित गरिएको थियो। गतिविधिले बालबालिकामा आत्म-जागरूकता तथा भावनात्मक अभिव्यक्तिको विकास गर्न सहयोग पुर्याएको आयोजकले जनाएको छ।
कार्यक्रममा उपस्थित अतिथि तथा प्रतिनिधिहरूले बाल सुरक्षा समाजको महत्वपूर्ण विषय भएको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमहरू समुदायस्तरमा निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिए। सहभागी अभिभावक तथा बालबालिकाले पनि कार्यक्रमबाट बाल सुरक्षा र संरक्षणसम्बन्धी उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया व्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा “बाल सुरक्षा सबैको साझा जिम्मेवारी हो” भन्ने सन्देशका साथ बालबालिकाका लागि सुरक्षित, सहयोगी तथा स्वस्थ वातावरण निर्माण गर्न परिवार, समुदाय र सामाजिक संस्थाहरूले संयुक्त रूपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो। किसान बजार आञ्चलिक समितिले आगामी दिनमा पनि बालबालिका तथा समुदायसँग सम्बन्धित यस्ता सचेतनामूलक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रम किसान बजार आञ्चलिक समितिको आयोजनामा तथा बङगाईगाउँ टाउन आञ्चलिक समितिको सहयोगमा सम्पन्न भएको थियो।
प्रतिवेदक : योगेश गिरि, सूचना एवं प्रविधि सचिव, बङगाईगाउँ जिल्ला समिति (आग्सु)